निर्मोही व्यास
मैले पितामहलाई देख्न पाएँ भनूँ कि पाइनँ भनूँ ! किनभने म तीन महिनाको छँदा नै उहाँको निधन भएछ । चार छोरामध्ये माहिला छोराबुहारीबाट जेठो नाति भएर जन्मेको हुनाले पितामह मलाई मुटु रित्याएर माया गर्नुहुन्थ्यो रे । त्यसो त जेठाबा पद्मनाथ उपाध्याय न्यौपानेका मभन्दा बाइस वर्र्षै जेठा भएर जन्मेका छोरा ‘हरिदाइ’ पनि हुनुहुन्थ्यो र अझै पनि हुनुहुन्छ तर उहाँ वर्णसङ्कर हुनुभएकाले परिवारमा उहाँको खासै गन्ती थिएन रे । त्यसैले कुलको पहिलो नाति (पौत्र) का रुपमा मलाई मान्नुहुन्थ्यो रे पितामहले । र, मेरो जन्मोत्सव धुमधामले मनाउनुभएको थियो रे उहाँले । उहाँ म भर्खरको शिशुलाई काखमा राखेर सुमधुर स्वरमा लेब्रो तान्दै गाउनुहुन्थ्यो रे, ‘आधारातमहाँ कदम्मुनि बसी वंशी बजाउने हरि’ अनि छातीमा टाँसेर च्वाप्पच्वाप्प म्वाइँ खाँदै र आँगनमा डुलाउँदै भन्नुहुन्थ्यो रे ‘मलाई भोलि ‘पितामह ! तृप्यन्ताम् तृप्यन्ताम्’ भन्छौ कि भन्दैनौ बाबू ?’ म अबोध शिशु उहाँका अनुहारमा आँखा गाडेर मुसुक्क हाँस्ने गर्थें रे । त्यस सुमधुर प्रसङ्गको मलाई सम्झना हुने कुरै भएन । त्यसै हुनाले मैले ‘पितामहलाई देखेँ भनूँ कि देखिनँ भनूँ’ भनेको । आफ्नो समयका मकवानपुरको सेरोफेरोका प्रख्यात ज्योतिषी पण्डित मेरा जेठाबाले नियतिको क्रुरताले गर्दा तीनओटा विवाह गर्न बाध्य हुँदा पनि दाम्पत्य सुख भने भोग्न पाउनुभएनछ । पछिल्लीचाहिँ जेठीआमा तामाङकन्या हुनुहुँदोरहेछ । उहाँबाट जन्मेका हुनाले क्रमगत रुपमा कुलको जेठो औरस नाति भएर जन्मे पनि वर्णसङ्कर हुनुभएकाले हरिदाइको कुनै गन्ती भएनछ र जेठो नातिको पगरी मैले गुत्न पाएछु ।
आज २०८० साल असोज २१ गते हो र पितृपक्षको दशमी श्राद्धको दिन हो । म आफ्ना समस्त पितृलाई जलदान र पिण्डदान गरेर भर्खरै फुर्सतिलो भएको छु । अहिले, यतिबेला चौरान्नब्बेऔँ वर्षीया आमा भगवतीदेवी न्यौपानेको वात्सल्यपूर्ण सान्निध्यमा रहेर आजभन्दा अट्ठाइस वर्षअघि दिवङ्गत हुनुभएका वात्सल्यका प्रतिमूर्ति बाबा नरनाथ उपाध्याय न्यौपानेको स्मृतिमा एउटा विशेष स्मृतिप्रसङ्गका छालहरुसँगै छल्छलाउँदै छु । प्रसङ्ग २०५२ सालको हो ।
त्यसताका मेरी श्रीमती कल्पना मुटुकी जीर्ण रोगी थिइन् । म उनको उपचारमा होमिएको ठ्याम्मै पन्ध्र वर्ष भइसकेको थियो । त्यस क्रममा पालैसित कलैया, वीरगन्जका साथै काठमाडौँका त्रि.वि. शिक्षण अस्पताल, वीर अस्पताल, ओम् नर्सिङ होम र हिमाल नर्सिङ होम अनि रक्सौलको डङ्कन अस्पताल र अन्तमा दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा धाउँदै थिएँ । यसरी आर्थिक क्षमताले भ्याएसम्मका स्वदेशी र भारतीय महँगा अस्पतालको शरण पर्दा पनि केही सिप नलागेकाले फेरि काठमाडौँको ‘ओम् नर्सिङ होम’मा पुर्याएको थिएँ उनलाई ।
त्यसताका त्यो प्रज्ञा प्रतिष्ठानको उत्तरपट्टि, होटेल मार्कोपोलोको पछिल्तिर थियो । रोग निको हुनुभन्दा झन् झन् बल्झिँदै थियो । घरबाट बारम्बार काठमाडौँको त्यस अस्पतालमा धाउँदै कहिले कुन त कहिले कुन आफन्तकहाँ साता साता दिनसम्म पाहुना लागी उनीहरुलाई बारम्बार पिरोल्दै आएको थिएँ । थला परेकी श्रीमतीसहित भतुवा लागी ‘बिरालाले बच्चा सारेको’ भनिने पाराले कुम्लोकुटुरो बोकी आफन्तका घर-डेरा फेर्दै अस्पताल धाएर नियमित रुपले लामो समयसम्म उपचार गराउन सम्भव थिएन । उपचारको स्थायी व्यवस्थाका लागि मैले काठमाडौँमा एककोठे भए पनि डेरा लिनु अत्यावश्यक थियो । मेरो जागिर थियो घरपायक पर्ने ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्जमा । त्यसो हुनाले मैले त्यहाँबाट जागिर सरूवा मिलाएर काठमाडौँको कुनै क्याम्पसमा आउने र सम्बन्धित अस्पतालका निम्ति पायक पर्ने ठाउँमा डेरा लिने योजना मनमनै बनाएँ । साथै काठमाडौँ बसाइको त्यही अवसरको अतिरिक्त लाभ लिँदै पीएच.डी.को अध्ययन थाल्ने सपना पनि बुनेँ । र, समस्या जल्दोबल्दो भएकाले लगत्तै सरूवाको प्रक्रिया मिलाउन थालेँ ।
त्यसै क्रममा एकदिन क्याम्पसबाट फर्किआएपछि मैले बाबालाई आफ्नो योजना सुनाएँ र त्यसका निम्ति प्रयास थालिसकेको जानकारी गराएँ । मेरा कुरा सुनेर बाबाको मुखमण्डलमा एक्कासि ग्रहण लाग्यो । आफ्नो सबैभन्दा प्यारो वस्तु अप्रत्याशित रुपले आफूबाट गुम्न थालेको अनुभूतिले उहाँ एकदमै रन्थनिनुभयो । त्यस ताका उहाँ बयान्नब्बे वर्षका हुनुहुन्थ्यो । जेठो छोरा भएर जन्मेको हुनाले र उहाँको सान्निध्यमा सबैभन्दा बढी समय बिताएको हुनाले होला बाबा मलाई अरु सन्तानलाई भन्दा विशेष माया गर्नुहुन्थ्यो । मेरो निम्ति उहाँको हृदयमा वात्सल्यको महासागर नै उर्लिराख्थ्यो । मलाई उहाँ जहिले पनि ‘व्यासजी’ भनी सम्बोधन गर्नुहुन्थ्यो । उहाँकै सिको गरेर आमाले र दिदीले पनि मलाई ‘व्यासजी’ नै भन्नुहुन्थ्यो र अहिलेसम्म पनि भन्दै हुनुहुन्छ । छोरालाई पनि नाउँका पछाडि आदरपूर्वक ‘जी’ थपेर बोलाएको सुन्दा गाउँले–टोलेहरु छक्क पर्थे । मलाई समाजमा कसैले पनि हेप्न–होच्याउन नसक्ने धुरन्धर विद्वान् बनाउनु बाबाको एकमात्र सपना थियो । त्यसैले मेरो प्राज्ञिक प्रगतिका निम्ति उहाँ अत्यन्त व्यग्र र सब तरहले सदा तत्पर रहँदै आउनुभएको थियो । जुनसुकै कारणले भए पनि अहिले उही छोराले आफूदेखि टाढिएर काठमाडौँलाई कर्मथलो बनाउन जान खोजेको कुराले उहाँको हृदयमा कैयौँ रेक्टर स्केलको भुइँचालो मच्चाइदियो । गहभरि आँसुको सागर उर्लियो । अनि मन, मुटु र कलेजा पग्लेर निस्केको झीनो स्वरमा उहाँले मलाई भन्नुभयो, ‘बाबू ! यो उमेरको म बूढोलाई छाडेर तँ अब काठमाडौँ बस्न जान्छस् ?’
त्यो सुनेर म भक्कानिएँ । म वाणीहीन भएँ । मेरो कलेजा कोक्कियो तर परिस्थितिका सामु म लाचार थिएँ । मैले विगलित स्वरमा आफ्नो कठोर निर्णय सुनाएपछि उहाँले मुटुमाथि ढुङ्गा राखेर मलाई स्वीकृति दिँदै भन्नुभयो ‘भैगो त, म डाँडामाथिको जूनलाई हेरेर आफ्नो भविष्यप्रति किन आँखा चिम्लिनु ? जाओ, जे गर्दा तिमीहरुको भलो हुन्छ, त्यही गर ।’ त्यसपछि मैले काठमाडौँ भोटाहिटीको ललितकला क्याम्पसमा सरूवा मिलाएँ २०५२ साल जेठको अन्तिम सातामा । र, डेरा लिएँ अस्पताललाई पायक पर्ने धोबीधारा टोलमा ।
केही महिना बितेपछि ओम् नर्सिङ होमका सम्बन्धित डाक्टरले एक साताभित्रै कल्पनाको मुटुको अप्रेसन गराइहाल्नुपर्ने नत्र ज्यान जाने घोषणा गरे । सातदिने अवधिभित्र अप्रेसन खर्च तीनचार लाख रूपियाँ जुटाउनु मेरोे निम्ति असम्भव कुरा थियो । म रून थालेँ । पुट्टपर्तीमा रहेको साइबाबाको ‘श्री सत्य साई इन्स्टिच्यूट अफ हाइयर मेडिकल साइन्सेज’ नाउँको ठुलो अस्पतालमा मुटुको अप्रेसन निश्शुल्क रुपमा हुने जानकारी कतिपय अग्रजबाट पाएर र सहानुभूतिशील साथीभाइको सरसहयोगबाट केही बाटोखर्चसमेत जुटाएर मैले त्यस अवधिभित्रै कल्पनालाई पुट्टपर्ती पुर्याएँ र अप्रेसनको प्रक्रियामा लगाएँ ।
यसैबिचमा मेरो पदोन्नतिको नियुक्तिपत्र हात पर्यो । तत्काल सहायक प्राध्यापक पदमा कार्यरत म उपप्राध्यापकमा बढुवा भएँ । वीरगन्जबाट मेरो काठमाडौँ पूर्ण रुपको सरूवा नै नभएर काज सरूवा मात्र भएकाले पदोन्नतिपछि पदस्थापना गरिँदा काठमाडौँको कार्यरत क्याम्पसमा नभएर वीरगन्जको पुरानै क्याम्पसमा गरिएछ । कल्पनाको उपचार अब काठमाडौँका अस्पतालमा नभएर पुट्टपर्तीमा हुन थालिसकेको थियो । श्रीमतीको उपचार काठमाडौँमा नहुने भएपछि जर्जर अवस्थाका पिताजीलाई कल्पाएर आफू अपराधबोध र ग्लानिबोधले खुम्चँदै काठमाडौँ बस्नुपर्ने बाध्यताको अन्त्य भयो । त्यसैले अब घरपायक जागिर खाएर बाबाको सान्निध्यमै रहने बलियो अठोट गर्यो मेरो अन्तरात्माले । बाँकी रह्यो पीएच.डी.को अध्ययन थाल्ने प्रसङ्ग । त्यो पछि गर्दै गरिएला भनी म ललितकला क्याम्पसबाट रमानापत्र बुझी आफ्नो पदस्थापना गरिएको उहि ठाकुरराम बहुमुखी क्याम्पसमा पदबहाली गर्न वीरगन्ज पुगेँ । यसरी मेरो काठमाडौँको डेराबसाइको अन्त्य भयो ।
क्याम्पसमा पहिलो हाजिरी गरेर पदबहाली गरेपछि म लगत्तै रानीघाट टोलमा रहेको माहिलो भाइ शुकदेव उपाध्यायको घरमा गएँ । बाबा पनि त्यहीँ हुनुहुँदो रहेछ । भाइले केही दिनअघि मात्रै कलैया भवानीपुरको हाम्रो मूलघरबाट ल्याएर आफूसँगै राखेको रहेछ । मेरो हृदय गद्गद भयो बाबालाई वीरगन्जमै देख्न–भेट्न पाएर र बाबा पनि मक्ख पर्नुभयो मलाई देख्न–भेट्न पाएर । मैले बाबालाई गोडामा ढोगेर सन्चोबिसन्चो सोधेपछि उहाँले मलाई सोध्नुभयो ‘कति दिनको छुट्टी लिएर आएको बाबू ? अब फेरि काठमाडौँ कहिले फर्किन्छस् ?’ मैले जबाफमा आफू अब पदोन्नत भएर वीरगन्जको क्याम्पसमै पढाउने र पहिलेजस्तै सधैँ घरबाटै वीरगन्जको जागिर धान्ने गरी आएको प्रसङ्ग बेलिविस्तार लगाउँदै ‘म अब फर्केर काठमाडौँ जान्न बाबा ! तपाईंसितै घरमै बस्छु’ भनेपछि बाबाको मुहारमा एक्कासि हजार सूर्य झल्मलाए । हृदयमा खुसीको महासागर उर्लियो, तृप्तिको सगरमाथा चुलियो र आनन्दानुभूतिले रोम–रोम पुलकित भए । उहाँलाई त्यो मिठो बिपना पनि नितान्त सपना लागिरह्यो । केही छिनसम्म उहाँ मलाई हेरेको हेरै हुनुभयो । अनि मलाई फेरि सोध्नुभयो ‘हँ, बाबू ! साँच्चै अब तँ मलाई छोडेर जाँदैनस् त ? मसितै घरमा बस्छस् त ?’
‘हो बाबा ! म अब तपाईंलाई छाडेर कतै पनि जान्नँ, घरै बस्छु’ भनेर मैले उहाँलाई आश्वस्त पारेपछि उहाँका जोर नयनले झमझम हर्षाश्रु बर्साएर महोत्सव मनाए । त्यसको केही महिनापछि नै उहाँ थला पर्नुभयो र केही दिन कोमामा रहेर चैत १ गते दिवङ्गत हुनुभयो । यदि म काठमाडौँमै रहँदो हुँ त मलाई जीवनभरिका लागि पछुतो हुने रहेछ र ठुलो खुट्कोले मन, मुटु र मगज छियाछिया भइराख्ने रहेछ । थोरै समयका लागि नै भए पनि मसितको वियोग उहाँका लागि असह्य थियो । धन्य म बेलैमा फेरि बस्न आइपुगेछु उहाँको सान्निध्यमा ।
अँ त, माथिको प्रसङ्ग थियो २०५२ सालको । त्यसपछि मेरो जीवनयात्रामा थुप्रै थुप्रै घुम्ती र उकालीओरालीहरु आए । बाबाको चोला उठेको डेढ वर्षपछि ५४ सालको नौरथामा श्रीमती कल्पनाको पनि चोला उठ्यो । त्यसको पनि नौ वर्षपछि तराईमा पहाडिया विरोधी आँधीबेहरी उठ्यो । त्यसले पुस्तौँपुस्तादेखि तराईमा बस्दै आएका असङ्ख्य असङ्ख्य रैथाने पहाडियाहरुलाई उडाएर यत्रतत्र पछारिदियो । त्यही आँधीको चपेटामा परेर हाम्रो परिवार पनि छिन्नभिन्न हुन पुग्यो । एउटै गर्भबाट जन्मेका र एउटै घर–आँगनमा हुर्के–बढेका हामी तीन सहोदर दाजुभाइ आफ्नो पुर्खौली थातथलो कलैया भवानीपुरबाट विस्थापित भई कोही कता कोही कता छरिन पुग्यौँ । त्यस क्रममा म काठमाडौँमा पछारिन पुगेँ ।
घरबाट डेरा, डेराबाट घर र घरबाट फेरि डेराको वास गर्दै काठमाडौँमा सोह्र वर्ष बिताएपछि हेटौँडामा कान्छो भाइको साँधमै रहेको सानो घडेरीमा छाप्रो हाली स्थायी रुपले ओत लाग्न थालेको छु । यसरी सोह्रवर्षे अन्तरालपछि अहिले बहत्तर वर्षको उमेरमा म फेरि आमाको वात्सल्यको छहारीमा रमाउन पाएको छु । म यहाँ बसोबास गर्न आइपुगेकोमा सबैभन्दा बढी खुसी आमा हुनुभएको छ । उहाँको सेवाशुश्रूषा भाइ गौतम र बुहारी भावनाले समर्पित भएर गरिराखेका छन् । त्यसैको फलस्वरुप आमा अहिले चौरान्नब्बेऔँ वर्षमा पनि हरतरहले स्वस्थ, सुखी, खुसी र क्रियाशील हुनुहुन्छ । मैले माखो नमारे पनि मेरो उपस्थिति मात्रले पनि हर्षविह्वल हुनुभएको छ । र, मलाई भन्नुहुन्छ ‘हेर् बाबू ! तँ जन्मँदा हाम्रो परिवार मात्र नभएर कलैया भवानीपुरका हाम्रा सारा टोलेछिमेकीहरुले पनि खुशियाली मनाएका थिए । हामी बाबुआमाको त झन् कुरै के र ! बाबू ! तँ अब फेरि सँगै बस्ने गरी आएकोमा मेरो मनमा तँ जन्मेको दिनमा जत्तिकै खुशियाली छाएको छ । अब मलाई छाडेर अन्त बस्न नजा है !’
अट्ठाईस वर्षअघिको बाबाको अभिव्यक्तिले जस्तै अहिलेको आमाको यस अभिव्यक्तिले पनि म वर्णनातीत रुपमा हर्षविह्वल भएको छु । मलाई आफ्नो जीवनका प्रत्येक दिन जन्मोत्सव लाग्न थालेका छन् । मातृवात्सल्यको यो छहारी चिरकालसम्म पाइरहूँ र त्यही अखण्ड ऊर्जाले आजीवन सिर्जनामा रमाइरहूँ । अब यसबाहेक अरु कुनै कामना छैन । दैव छन् भने उनको कानमा मेरो यो प्रार्थना सुटुक्क पुगोस् !