नारद थपलिया
‘नमस्कार, धर्मराजज्यू !’
‘नमस्कार ।’
‘म जाने कतापट्टि होला धर्मराज सर ?’
‘बहिखाता हेर्दा बिचमा पर्छ त ! तिमी पेन्डुलम भयौ, न यता न उता ।’
‘किन यस्तो सर ?’
‘तिमी स्वास्थ्यकर्मी भएर काम गरे पनि तिमीले केही नराम्रा काम पनि गरेका रहेछौ ।’
‘जस्तो … ।’
‘जस्तो तिमी डाक्टर भएर पनि रक्सी पिउने गथ्र्यौ कुनै समय ।’
‘त्यसले त मलाई मात्र असर गर्ने होइन र धर्मराज सर ?’
‘तिमी त अरुका लागि आदर्श मान्छे पो ! बिर्सियौ तिमीले त्यो कुरा ? अरुले के सिक्ने तिमीबाट ?’
‘त्यो त हो सर तर डाक्टरले भनेको कुरा मान्ने हो, न कि गरेको कुरा ! अरु कस्ता गल्ती भए, मबाट सर ?’
‘तिमीले पनि सरकारी जागिर खाएर प्राइभेट प्राक्टिस गरेछौ कुनै समय । त्यो त राम्रो भएन नि !’
‘के गर्ने सरकारी सुविधा नै कम छ । मैले अतिरिक्त समयमा काम गरेँ । विगत दश वर्षदेखि त म प्राइभेट प्राक्टिस गर्दिनँ नि ।’
‘जे होस् ढिलै भए पनि तिमीमा चेत आयो । अर्को कुरा आम्दानीको पाँचदेखि दश प्रतिशत कम्तीमा दान गर्नुपर्छ तर तिमीले त्यो गर्नुपर्ने राम्रो काम समेत गरेका रहेनछौ नारद बाबु ।’
‘गर्छु भन्दाभन्दै ढिलो भयो सर ।’
‘तिमीलाई बहाना बनाउन राम्रै आउँदो रहेछ ।’
‘परोपकार गर्ने चाहना त थियो नि ! फेरि मेरो पेसा नै स्वास्थ्यको थियो नि सर ! स्वास्थ्य सेवा आदरणीय पेसा हो नि । मुख्य कुरा म अरुको कुभलो चाहन्नँ र मैले जानेर अरुको बिगार पनि गरिनँ ।’
‘त्यही त तिम्रो राम्रो पक्ष थियो तर अरुले जस्तै तिमीले पनि एउटा ठुलो गल्ती गरेछौ ।’
‘के भयो धर्मराज सर, मबाट त्यस्तो ठुलो गल्ती ?’
‘तिमीले मृत्युपछि अङ्गदान गरेनौ, जसका लागि तिमीले समयमा सबै कुरा गर्नुपथ्र्यो जिउँदो छँदै ।
‘मैले मृत्युपछि अङ्गदान गर्ने फाराम भरेको थिएँ तर त्यसबारे सबैलाई जानकारी दिन सकिनँ । त्यही चाहिँ मेरो गल्ती भयो सर ।’
‘थाहा छ, तिम्रा दुई आँखाले अरु दुई जनाले देख्न पाउने थिए । तिम्रा दुई मृगौलाले दुई जनाले जीवनदान पाउने थिए । त्यस्तै तिम्रो कलेजोले अरु दुई जनाको ज्यान बच्ने थियो तर तिम्रो अङ्ग त बेकारसँग खेर गयो । किन यस्तो गल्ती ग¥यौ तिमीले नारद, डाक्टर भएर पनि ? यो गल्तीलाई म कसरी अनदेखा गरौँ ?’
‘त्यो त हो सर । मबाट साँच्चै ठुलो गल्ती भयो ।’
‘तिमी हेर्न चाहन्छौ तल पृथ्वीमा मान्छेको हाल एकपटक फेरि ? सुन एउटा अन्धाको कुरा ।’
‘पख्नोस् दाजु, पख्नोस् दिदी ! मेरो कुरो सुन्नोस् ! म पनि अन्धो थिइनँ जन्मदाखेरि । के गर्ने गाडी दुर्घटनामा परेपछि । आखिर दुर्घटनामा जो पनि पर्न सक्छ । म त भर्खर दश वर्ष मात्र लागेँ । मेरो जीवन बेकार हुने भयो । मलाई सहयोग गर्नोस् । म पढ्नमा कति तगडा थिएँ । सबै मेरो पढाइको प्रशंसा गर्थे । अहिले मेरो बिजोग भएको छ । मेरो डाक्टर बन्ने चाहना त्यसै मर्ने भयो । म जिउँदै मरेकोझैँ भएँ । कास, कोही मृत्यु भएर जानेले आँखा दान गरे कस्तो हुन्थ्यो ! किन मान्छेहरु मरेर खेर जाने अङ्ग दान दिन डराउँछन् ? म त जिन्दगीभर उनीहरुको गुणगान गाउने थिएँ । ए भला मानिस, मलाई सहयोग गर्नोस् । सबैलाई भन्नोस्, मरेर पनि ठुलो दान गर्न सकिन्छ । मेरो अनुरोध मान्नोस् हजुर …. !’
‘अब त कुरा बुझ्यौ हैन नारद बाबु ।’
‘हो सर, मैले कुरा बुझेँ । मबाट ठुलो गल्ती भएछ ।’
‘अब उता भरतपुर अस्पतालमा हेर । सुन, मृगौलाले काम नगरेर डायलासिस गराइरहेको एउटा व्यक्तिको कुरा ।’
‘सुन्नोस् सर मेरो कथा । जीवनभर मैले स्कुले नानीहरुलाई पढाएँ तर मैले त आफ्नै स्वास्थ्यको ख्याल भने राखिनछु । मेरो उच्च रक्तचापले दुवै मृगौला बिग्रेछ । न कमाउन सकेँ न स्वास्थ्यको ख्याल गर्न । अहिले मृगौला नपाएर बिजोग छ । मेरी श्रीमती आफै रोगी अनि सन्तान साना । अरुले मृगौला दिने कुरै भएन । कमाएको जति खर्च भइसक्यो । पैतृक सम्पत्तिको नाममा दश कट्ठा खेतीको जमिन छ । त्यो बेचौँ सन्तान भोका हुने । भला मानिस मलाई सहयोग गर्नोस् । मरेर जाँदा खेर जाने मृगौला पाए कस्तो हुन्थ्यो ? किन मान्छेहरु मरेपछि पनि ठुलो दान गर्न सकिन्छ भन्ने कुरा बिर्सन्छन् ? म त जिन्दगीभर ठुलो गुणगान गाउने थिएँ त्यस्ता भला मानिसका । मेरा सन्तानले सधैँ जप्ने छन् तपाईंलाई । मलाई सहयोग गर्नोस् … ।’
‘देख्यौ वास्तविकता । तिमीले त त्यो सब देखेको हो नि ! किन बिर्सियौ तिमीले त्यस्ता कुरा पनि । तिम्रो यो अपराध क्षम्य छैन नारद । तिमी मलाई दोष नदेऊ मैले स्वर्ग पठाइनँ भनेर ।’
‘म स्वर्गको दाबेदार हैन सर । मलाई पश्चात्ताप छ अहिले ।’
‘ल अब वीर अस्पतालको कलेजो विभागमा भएको एउटा बिरामीको समस्या सुन तिमी ।’
‘पख्नोस् सर, मेरो कथा सुनेर जानोस् । के गर्ने कुलतमा परेर मैले साथीहरुको लहैलहैमा लागेर रक्सी पिउन सुरू गरेँ । मैले ठानेको थिएँ, म रक्सी त्यसै पचाउन सक्छु तर हैन रहेछ रक्सीले खायो मलाई अहिले । मेरै कारण बिजोग भएको छ मेरा सन्तानको । चार जना ससाना सन्तान छन् । सम्पत्तिको नाममा पाँच कट्ठा खेतीको जमिन मात्र छ । श्रीमती बच्चा धेरै जन्माएर र स्वस्थ खाना नपाएर रोगी छन् । मेरा सन्तानको बिजोग हुने भयो । मेरो गल्तीको सजाय ती बच्चाबच्चीले पाउने भए । मलाई सहयोग गर्नोस् । कम्तीमा मरेर गएका भला मानिसहरुले खेर जाने कलेजो दिए कस्तो हुन्थ्यो ? मरेर पनि ठुलो दान दिन सकिन्छ । किन बुझ्दैनन् यो कुरा मानिसहरु ? म त जिन्दगीभर तपाईंको जयगान गाउने थिएँ । मेरा सन्तान सधैँ तपाईंका जयगान गाउने थिए । मलाई दया गर्नोस् । मलाई बचाउनोस् … ।
‘अब पनि केही भन्नु छ नारद बाबु ।’
‘मैले गल्ती गरेँ । जे सजाय पाउन पनि म तयार छु, धर्मराज सर ।’
‘हामी सबैका कर्म हेर्छौं । वास्तवमा स्वर्ग भनेको राम्रो काम र परोपकार गर्ने मान्छे बस्ने ठाउँ हो । त्यसको उल्टो नर्क भनेको लोभी, फटाहा र अरुलाई दुःख दिने मान्छे बस्ने ठाउँ हो । अझ राम्रो काम गर्दा मन खुसी हुन्छ भने नराम्रो काम गर्दा भित्री मन त दुखेकै हुन्छ । हामी भगवान्को भजन गाउनेभन्दा सहयोग गर्ने हातहरु मन पराउने गर्छौं । अब त कुरा बुझियो डाक्टरसाब !’
‘मैले कुरा बुझेँ सर तर एकपटक अन्तिम मौका पाउन सकिन्न ? पृथ्वीमा गरेको गल्ती त्यही गएर सुधार्न ? अब त्यस्तो गल्ती हुन्न सर मबाट ।’
‘तिम्रो अरु राम्रो काम हेरेर म अन्तिम मौका दिन्छु तर समय कम हुन सक्छ नि, त्यो चाहिँ नबिर्स ।’
‘उर्रा… धर्मराजको जय होस् ।’
त्यस्तैमा म अचानक ब्युँझिएँ । सपना सम्झेर अलिकति डराएँ पनि । अलिकति सपनाको अर्थ खोज्दै गएँ । वास्तवमा त्यो त मलाई मृत्युपछि खेर जाने अङ्गदान गर्न समयमा पहल गर्नुपर्ने राम्रो कुराको जानकारी गराएको जस्तो लाग्यो । साँच्चै म कृतज्ञ छु त्यो सपनाप्रति !
अहिले म एकदम स्पष्ट छु, आफ्ना भावी कामहरुका लागि । मृत्युपछि खेर जाने अङ्गहरुका बारेमा सबैलाई जानकारी गराउने कोसिस गर्ने छु म । पहिला आफै र आफ्नो घरबाट काम थाल्ने छु । अरुलाई सचेत गराउने छु । वास्तवमा मृत्युलाई पनि सहज रुपमा लिन खोज्दै छु । जीवन त उत्सव हो । मृत्युलाई पनि उत्सव बनाउन कोसिस गरौँ । म यो अन्तिम मौका हातबाट जान दिन्नँ अब । नबिर्सनोस्, यो अन्तिम मौका तपाईंको पनि हो – मेरो जस्तै !


