पुण्य कार्की

टुकमान र टुकुने ।
टुकमान नेता टुकुने कार्यकर्ता ।
टुकमान अगुवा टुकुने पछुवा ।
सभा सम्मेलन कार्यव्रmममा जाँदा टुकमान अघि अघि छाता टेकेर हिँड्छ । उसको पछि पछि झोला बोकेर पछ्याउँछ टुकुने ।
ऊ बेला टुकमान हृदयमा इमानको आगो बोकेर हिँडेको थियो । त्याग र निष्ठाको बाटोमा अविचल उभिएको थियो ।
ऊभित्रको त्यही इमानको आगोले आकर्षित गरेको हो टुकुनेलाई । त्यसको त्याग र निष्ठाबाट अभिभूत भएर झोला बोकेको हो उसले ।
टुकमानको प्रशंसा गरेर थाक्तैन ऊ । जहाँ जाँदा जोसँग भेट्ता पनि आफ्नो नेताको बखान गाउन छाड्दैन ऊ । आफ्नो अनुचरले प्रशंसाको पुल कसेको देख्ता टुकमान पनि टुकुनेको विषयमा उद्गार पोख्छ, ‘टुकुने लाखमा नपाइने हिरा हो हिरा ! टुकुनेजस्ता कार्यकर्ताको मूल्य करोड दुई करोडमा पनि नाप्न सकिन्न ।’
+ + + +
समय पहिलेको रहेन । टुकमान सडकबाट सदनमा पुग्यो । सदन टेकेर सरकारमा पुग्यो । हिजोको त्यागलाई भजायो । हिजोको इमान, जमान र निष्ठालाई बिक्रीबट्टा गर्यो ।
कुरूस्त धन कमायो । महल ठड्यायो । आफ्नो अगुवाले चोरबाटोबाट अभक्ष चिज सेवन गरेको देखेपछि टुकुनेले बोकिआएको झोला फ्याँकिदियो ।
सडकमा भत्सर्ना गर्न थाल्यो, ‘यो अगस्ति ! यो हन्तकाले !! यसबाट हाम्रो उद्धार हुन सक्तैन ।’
हावामा मुट्ठी उज्याएर विषवमन गर्न थाल्यो ।
आफ्नो हितैषी झोले नै महाविरोधी भएर निस्केको थाहा पाएपछि ऊ पनि विषवमन गर्न थाल्यो, ‘टुकुने मान्छे नै होइन, यो दुई कौडीको मुलाङ्खरे !’
सुन्नेहरु छक्क परे । हिजोसम्म उही करोडमा नपाइने हिरातुल्य मान्छे थियो । आज अचानक करोडबाट दुई कौडीको भाउमा झरेको थियो ।

Facebook Comments Box

Similar Posts