रामकुमार एलन
१२ बज्न चारै घण्टा बाँकी छ, बिहानको होइन, मध्यरातिको । भोलि माघ १ गते । कतै माघे संक्रान्ती त कतै माघीका नाममा बिदा, उत्सव अनि रौनकका स्याँठ आजैदेखि चलिसक्यो बिगुल साइँलाको गाउँमा । छिमेकीकहाँ उमालेको तातो सक्खरको हरक साइँलाको नाकसम्म आइरहेछ । लड्डु अथवा चाकु के पो पकाउन लागेका होलान्, बालबच्चाहरु किरिङमिरिङ कराइरहेछन् बाहिर खुला मैदानमा । खुला मैदान पनि के भन्नु, कसको पो हो घडेरी । सहरमा कहाँ नजिक र सहजै उपलब्ध हुन्छ र मैदान ? रातको ८ बज्दा पनि केटाकेटी ब्याट र बल लिएर चिर्रिरहेका छन् । आमाबाबु छतमा बसेर सडकबत्तीको उज्यालोमा दृश्य हेरिरहेका छन् मोबाइलका विभिन्न एप्समा ।
सधैँ हस्याङफस्याङ जिन्दगी । पुसको मसान्त शनिवार भएर के गर्नु, बैङ्क र सहकारीले फोन गरेर ऋणीलाई हल न चल बनाएका छन् । साइँलाको नियति पनि उस्तै छ । साउँ र किस्ता त के, ब्याजसमेत तिर्न सकेको छैन । ससानो ऋणले ठुलो कमाइ अर्थात् जीवनभर जोडेको घर र घडेरीको टुक्रो कतिखेर लिलामीको घानमा पर्ने हो र बिहान आँगनीमा हकरले फालेको पत्रिकामा आफ्नै तस्बिर र लिलाम बढाबढको सूचना पढ्नुपर्ने हो भन्ने भयले साइँलालाई निद पनि राम्रो लाग्दैन अचेल । उसका बालबच्चालाई यसको न ताडना छ न त तनाव नै । बस रिमोटले चलेको मेसिनझैँ बाबुआमाले फर्माइस पूरा गरिदिए पुगेको छ ।
म्यासेन्जर कलका घण्टीहरु टिर्र, क्वार्र र कुर्र गरिरहेका छन् । घरमा भएको टेलिफोनले न वृद्धभत्ता खाएको हो । स्मार्ट फोनमा इन्स्टल भएका म्यासेन्जर, ह्वाट्स एप, भाइबर, वि च्याट आदि हुँदा हुँदा टिकटकले समेत कुराकानी सुरू गरेको छ । पहिला पो फोन धेरै आयो भनेर रिसिभर उठाएर राखेर या सेटमा तार छुटाएर मुक्ति पाइन्थ्यो । अहिले त त्यस्तो पनि होइन, एउटै स्मार्ट मोबाइल फोनमा एउटामा नउठाए अरु १० ओटा एपमा सन्देश र फोन आउँछ । नभए कसैले फेसबुक, टिकटक, ट्विटरमा लाइभमै ‘ओइ, साइँला, ऋण तिर्नु पर्दैन भनेर भन्देला’ भन्ने डर, लेखिदेलान् भन्ने त्रास ।’ बिगुल साइँला चुपचाप पीडा चपाइरहेछ ।
सबैको तिरोतारो कहिले सकिएला र एक रातभर निदाउँला भन्दाभन्दै भित्ताको क्यालेन्डरले फेरि जन्मदिनको सङ्केत गरिसक्यो । साथीहरु फेसबुकमा लेख्छन्, ‘अङ्क सिर्फ नम्बर न हो, जीवन मेरो हो, म अझै जवान छु ।’ हो, साथीभाइ, छिमेकीका पाखोभिर र खेतका गरा बेचेर कुस्त कमिसनले सहरमा सयलको पिङ मच्चाउँदै बालबच्चालाई त्यही ‘कालो कमाइ’को महमा डुबाउँदा पक्कै ऊ जवान छ । तर पाखो बारी बेचेर सहर झरेको जग्गावाला उसैको घरछेउमा ठेलामा पसल चलाइरहँदा नगर प्रहरीले लखेटेको उसले जहिल्यै आफ्नो कारको कालो सिसाबाट हेरिरह्यो मात्र, उसैका कारण सहरमा यो माधुर्य जीवन पाइरहेको हुँ भनेर कुनै दिन दया देखाएन । बिगुल साइँला यसको प्रत्यक्षदर्शी हो ।
खेतवालाको कथा अर्कै छ । बाबुको सेखपछि चार भाइले रूमालजस्तो खेत बेच्न दलाल खोजे । राम्रो खोज्न पो अलि पर पुग्नुपर्छ, दलाल, फटाहा, व्यापारी, स्वार्थी त वरपर नै कतिखेर ‘ओइ’ भन्लान् र ‘होइ’ भनुँला भनेर शयनकक्षमा निदाउँदा पनि आवाज सुनियोस् भनेर झ्याल खुलै राखेर बसेका हुन्छन् । चारै भाइले जग्गा घडेरी बनाएर बेच्न दिए सस्तोमा । रकम लिएर एउटा विदेश पस्यो । उसकी पत्नी र छोराछोरी सहरमा डेरा गरी बसे । अर्को ससुरालीतिर गएर उतै काम गर्दै थियो । खोइ के भयो कुन्नि, खनायोको बोटमा झुन्डिएको समाचार आयो । बालबच्चा नभएकाले पत्नी माइतमै थिई । पछि खबरखाबर आउन छाड्यो । भन्न त गाउँका दमालीहरुले भनेका थिए, ‘ससुराली गाउँमा गएर बस्नु भनेको घरज्वाइँजस्तै हो, यतै बस ।’ नमानेर ससुरालीनजिक गएको ऊ फर्केर आएन । अर्को भाइ खेतको पैसाले सहरमा क्याम्पस पढ्न छिरेको थियो, जनआन्दोलनमा सहिद भयो । विवाह पनि नगरेको सुकुमारको गाउँमा शालिक मात्रै छ । शालिकमा वर्षमा ३ सय ६४ दिन काग र अरु चराले बिस्ट्याउँछन्, एकदिनचैँ नेताले फूलको माला लगाएर चराको दिशा छोपछाप पार्छन् । नयाँ पुस्तालाई त ऊ को हो भन्ने पनि भेउ छैन । अब रह्यो एउटा भाइ, गाउँमै मास्टर थियो, टाठोबाठो, प्रदेश सांसद भएर मन्त्री भयो । यसपालि टिकट पाएन । काठमाडौँमा घर बनाएर सरेको छ । कहिलेकाहीँ टोल विकास संस्थाले बोलाए अतिथि बनेर पूर्वमन्त्रीको आसनमा देखिन्छ, साँझ फेरि काठमाडौँ फर्कन्छ ।
हो, त्यही एउटा विदेश जाने भाइ भरखर फर्किएको छ । उसकी पत्नी सहर बस्थी । ऊ पनि अर्कैसँग विवाह गरेर अहिले ओमान कि इजरायल गएकी छे । विदेशबाट फर्केर छोराछोरीलाई पढाएर अष्ट्रेलिया र क्यानडा पठाउँदै आफैले बेचेको खेतमा गरिएको प्लटिङमा चार आना घडेरी किनेर बसेको छ । टिनको छाना, बोतलको पानी । नशाले रिमरिम भएपछि यिनै दलाललाई गाली गर्छ आन्द्रो चुँडिने गरी, ‘मेरो खेत प्लटिङ गरेर करोडपति भइस्, मेरा अगाडि देखाउँछस् सुखको सपना ?’ बिगुल साइँला आफ्नै नियतिले थिचिएको छ, अरुको नियति हेरेर संवेदित पनि हुन सक्दैन, दाँत देखिने खित्का छाडेर नहाँसेको पनि धेरै भएको छ ।
हो, यही गाली खाने मान्छे लेख्छ फेसबुकमा, ‘अङ्क सिर्फ नम्बर न हो, जीवन मेरो हो, म अझै जवान छु ।’ सहरमा यस्ता जवानहरुको बाहेक बाँकीको जीवन निचोरिएको कागतीजस्तै छ, ठेलामा बेच्न दिनभर हिँड्दा पनि नबिकेको रायो सागजस्तै छ । बाँकीको जिन्दगी बैङ्कको ऋण, किस्ता, ब्याज, साझेदारी व्यवसायमा साझेदारले दिएको धोका, बिग्रेको घरजम, सम्बन्धबिच्छेदमा आधा सम्पत्ति वकिल र आधा सम्पत्ति पूर्वपत्नीलाई दिएपछि बाँकी अधमरो जीवनजस्तै छ । झट्ट हेर्दा पीडा लुकाउन खोजे पनि चोकको भट्टीमा नब्बे एमएल कोदोको तेल पर्नुपर्छ, घर जानै बिर्सेर रूवाबासी सुन्नुपर्छ सबैले, अझ भनौँ कतिको घर जानै नमानेको मनले पिएको भन्दा चौबर ओकलेर भट्टी वरपर नै गइनसक्नुहुन्छ । बिगुल साइँला यही घटनामा साक्षी छ बरोबर ।
हरेक अनुहार एउटा नलेखिएको/नभनिएको कथा हो । कथा के, फिल्म नै हो । पुरूषहरुका मात्र होइन, महिलाहरुको पनि पीडा कम छैन । काखमा छोरा दुध चुस्ने हुँदै बाबु गाउँमा अर्कीसँग पल्किसकेको हुन्छ । माइतको पेवापातले पोइको सुखका लागि थिलथिलो हुने गरी पिटाइ खाँदै खुसीको लट्टा बाट्न खोजे पनि पुरूषको मन न हो, बाङ्गिएको बुरूसजस्तै हुन्छ । हेर्दा बुरूसजस्तो तर दाँत नमाझिने । हो, पुरूष पनि यही थोत्रो बुरूसझैँ हुन्छन् । भनौँ आफ्नै खसमको बेइज्जती । गाउँका मर्दहरु हाटबजार लगाउलान् भन्ने डर । नभनौँ थोत्रो बुरूसले जीवनको दाँत कहाँ टल्किन्छ र ? कैयौँ उजेलीले जीवनको अँध्यारो पाटो सुनाए पनि बिगुल साइँला केही मद्दत गर्न सकिरहेको छैन, बस साक्षी हुनुमा सीमित छ ।
बग्रेल्ती फोन आउँछन् उसलाई । हुन्छ, उठाऊँ कि नउठाऊँ ? उठाऊँ समस्याको पोकोले कान तात्ने गरी ताप र तनाव एकसाथ दिन्छ । यसो गरिदिनुपर्यो, उसो गरिदिनुपर्यो ।’ हाइवे जाम भएको चार घण्टा भइसक्यो, खोइ तपाईंले समाचार दिएको ?’ फोनमा नचिनेको भए पनि पूर्ण परिचितको जामा लगाएर एउटाले बिहानै करायो । ‘के भयो ?’ सोध्यो साइँलाले, ‘गाउँका तीन जना केटालाई कुन हो गाडीले हानेर ठहरै पारेछ, भागेको गाडी पुलिसले अहिलेसम्म फेला पारेको छैन ।’ ‘को को परे दुर्घटनामा ?’ ‘गाउँकै फलाना फलाना ढिस्काना ।’ नखुलेका आँखा एकाएक ठुला भए । ‘लौ, हो र ?’ हिजो मात्रै भेटेका, सँगै खाजा खाएका, गाउँमा केही गरौँ भनेर सल्लाह गरेर गएका भाइहरु पो परेछन् । बिगुल साइँला सोचमा डुब्छ, ‘बिचराहरु जम्माजम्मी ३० देखि ३३ वर्षका थिए ।’ तीनै युवा दुर्घटनास्थलबाट अस्पताल हुँदै मुर्दाघरमा सारिएको खबर आउँछ ।
साइँलाले सम्झियो, ‘ती अबला बुहारीहरुमाथि परेको बज्रपात कसरी नाप्न सकिन्छ ?’ पहिलाजस्तो गाउँभरिमा एउटा क्यामेराले दसैँ-तिहार, न्वागी, नयाँ वर्षमा फोटो खिचेर धुलाएर ढोकामाथि फ्रेम राख्ने जमाना पनि होइन । सामाजिक सञ्जालमा उस्तै सक्रिय थिए भाइहरु । बुहारीहरु । बाबुनानीसँग रमाइलो गरेका भिडियोहरु फेसबुकले रिल र टिकटकले देखाइरहेका छन् । मान्छे हेर्दाहेर्दै बिलाएर मुर्दाघरबाट घाटमा लैजान मलामी खोज्नुपर्ने पो भयो माघे संक्रान्ति आउनै लाग्दा । गाउँमा छाएको सन्नाटासँगै सामाजिक सञ्जालभरि छापिएका फोटा र समवेदनाले साँच्चै मान्छे इन्टरनेटमा भने दुःखमनाउ गरिरहेको सङ्केत गर्छ । मान्छेमा मानवता र दया हराइसकेको छैन भन्ठान्छ बिगुल साइँला ।
‘बुढालाई गाँजा मुद्दामा फसाए छिमेकीले’, फेसबुक च्याटमा पनि यस्तै कथनी र पीडाको धुवाँ पुत्पुताउँछ, ‘वकिल गतिलो परेन कि के भयो, बुढा छुट्छन् भन्ने आशा गरेको त पूर्पक्षमा भीमफेदी कारागार पो चलान हुनुभयो ।’ सुत्ने बेला पनि मनको कुरा सुनाउन पाए मन हल्का हुन्छ भन्ने ठानेर आउँछ यस्तै गुनासोको पुलिन्दा सुन्छ साइँला, ‘हो र, को वकिल ? कति पैसा खर्च भयो, कसले फसाए, के हुँदै छ ?’ सोध्यो, १५ मिनेटसम्म जवाफ आउँदैन । आउँछ ढिलो जवाफ, ‘इन्टरनेट नै चल्दैन, भनेको बेला कुरै हुन पाउँदैन ।’ समय मात्र होइन इन्टरनेटले पनि मान्छेलाई धोकै दिइरहेको छ । सुन्दासुन्दै अरुका कुरा, बिगुल साइँला आफै बेसुरो भइसकेको हुन्छ । देख्नेले त भन्लान्, ‘क्या अभ्यस्त छ साइँला ।’ तर कति अस्तव्यस्त छ, उसैलाई थाहा छ । अरुले भनेको अभ्यस्तभित्रको कालो पाटो थाहा नपाएका न हुन् !
‘गाउँमा गाँजा फाँड्न प्रहरी आयो, यसपालि पनि धेरैको चिहिलबिहिल हुने भयो नि’, स्थानीय नेताले फोनमा साइँलालाई सुनाए, ‘यतिखेर गाउँमा बस्यो भने हामी नेतालाई गाउँलेले थुक्छन्, लखेट्छन्, किसानको लाखौँ रूपियाँ खरानी भएको छ, म पनि सहर आएँ, तपाईं पनि यो महिना गाउँतिर आउने कुरा नगर्नुहोस् है ।’ गाउँमा यसपालि गाँजा लगाउने किसानलाई के विश्वास थियो भने चुनावमा नेताले गाँजा नफाँड्ने कुरा गरेकाले प्रहरी आउँदैन । तर के गर्नु, चुनाव अरुले जिते । जसले प्रहरी नपठाउने भने, उनीहरुले हारे । कथा अर्कै भइदियो । ‘दिनको १२ सय त भत्ता पाउँछन् केटाहरुले’ एसपीसाबले साइँलासँग भने, ‘४० बिघाभन्दा बढी फाँडियो, अब त बजेट सकियो, टोली सहर फर्कन्छ ।’ प्रहरीले ठुलै उपलब्धि हासिल गरेको सन्देश आयो ।
‘७० थान स्विटर दिने दाता पाइएला कि ?’ गाउँबाट पार्टीकै सहकर्मीले फेसबुक च्याटमा जिज्ञासा राखे । स्वाभाविक हो । गाउँमा जाडोमा निमुखाका छोराछोरीलाई स्विटरसम्म मात्र दिन पाए पनि ठुलो धर्म हुने । अर्कातिर आउने चुनावमा भोट माग्ने निहुँ पनि हुने । यस्तै यस्तै सामाजिक काममै दिनहरु बित्छन् । उसै पनि पुस फासफुस भन्थे बुढाहरु । बिहान खाना खाएर एउटा काममा जाँदा र फर्कंदा दिनले बिट मार्न खोजिसकेको हुन्छ । कहिले चिसो स्याँठले कतिखेर घर पुगूँ हुन्छ । कहिले हुस्सु र कुहिरो पनि आकाश नै लुकाएर छिटो घर जा भनिरहेको हुन्छ । यो महिनै यस्तो । आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा सबै कुरामा पैसा जोडिने, अड्किने र पड्किने । ६ महिनामा प्रगति भयो कि उँधोगति । लेखापरीक्षकले पनि अघिल्लो वर्षको लेखापरीक्षण शुल्क लिन फोन गरिरहेछ । कम्पनी अद्यावधिक पनि छैन । अब माघदेखि काम कसरी गर्ने ? कम्पनी लेखापरीक्षण र अद्यावधिकको पनि जरिवानामा परेपछि के नाफामा जानु जिन्दगी र कम्पनी ? कतिन्जेल पत्नीका गहना फुकालेर कम्पनी अद्यावधिक गरिरहनु ? अब त बुढीले टिकटकमा बुच्चो नाक र कान देखाउन थालिसकी । बिगुल साइँला मनमनै खुइय्य गर्दै सुस्ताउँछ ।
माउ नेताको सुझाव अरु पेचिलो आयो, ‘अमेरिका र चीन अनि रूसको आन्तरिक खिचातानीमा हामी पर्नेवाला छौँ ।’ नेताले थपे, ‘रूस र चीनलाई लखेट्ने पश्चिमा देशको योजना अनि आर्थिक सङ्कटमा परेको चीनले बनाइरहेको योजना के चानचुने होला र ? अर्कातिर अमेरिका न एमसिसीबाट पछि हटेको छ न एसपिपीमा नै टसको मस भएको छ । मुलुक कर्मचारीलाई तलब खुवाउन नसक्ने गरी टाट पल्टिएको छ, रेमिट्यान्स नपठाउने अभियान चलाइरहेका छन् विदेशमा भएका युवा जमात । यता, टर्च बालेर खोज्नुपर्ने प्रतिगामी शक्ति कति चाँडै मुलुकको वैकल्पिक शक्ति बनेर उदायो र प्रदेश खारेज गर्छौं भन्नेहरु प्रदेश सरकार चलाउने शक्ति बने ? विदेशमा भएकाहरु छँदै छन् । भएकालाई पनि हामी नै फ्रि भिसा दिएर पठाउँछौँ भन्नुपर्ने कस्तो व्यवस्था र अवस्थामा पुग्यौँ, जनताले हामीलाई थुक्दा प्रतिरोध गर्न छाडेर अहा क्या तातो ! भनेर मुख थापिरहनुपर्ने बाध्यता पो आइलाग्यो ।’
देश वृद्धाश्रमझैँ भएको छ । इजरायलका कथाहरु यहीँ पटाक्षेप हुन थालेका छन् । घरलौरी विदेशमा भएकाले पठाएको रेमिट्यान्स आइएमइमा थन्किएको छ । गएर ल्याइदिने मान्छे छैन गाउँमा । निमोनियाले बुढापाकाहरु थला परेका छन् । टाँडमा भएको सिटामोल निकालेर एक गिलास तातो पानी दिने कोही छैन । भोट हाल्न आएकाहरु पनि सब विदेश हिँडिसके । यो अवस्था गाउँमा देख्दादेख्दै पानी नभएको ठाउँमा सिँचाइ र बाटो नभएको ठाउँमा पुल हाल्ने योजना बोकेर प्रदेश सरकार शिलान्यास र उद्घाटनमा रत्यौली खेलिरहेको छ । गाउँ गाउँजस्तो छैन, मान्छे मान्छेजस्ता छैनन्, सम्बन्ध सम्बन्धजस्ता छैनन् । एउटा नयाँ अनुहार देख्दा केको व्यापार गर्न आयो, नयाँ दलाल भनेर परिचय नगर्दै अनुसन्धान र हिरासतमा पठाउन पछि नपर्ने मनोदशामा मनुवाहरु उत्रन बाध्य छन् । मिठा कुरा गरेर किड्नी तस्करहरु गाउँ छिरेका छन् । कतै बच्चा लैजानेहरुको हल्ला छ । पहिला बुढापाका भन्थे, ‘नचिनेकाले दिएको चक्लेट नखानू, मुटुकलेजो खान्छन्, किड्नी लैजान्छन् ।’ अचेल किशोर पुस्ता भन्न थालेका छन्, ‘ओ, नचिनेको दाइ/अङ्कल, एउटा आइफोन दिने हो, स्कुटी किन्दिने हो, म चिनियाँ केटीझैँ किड्नी दिन तयार छु, जवानी मात्र के कुरा ?’ सिँगो गाउँ बदल्छु भनेर व्रmान्तिकारी चेतमा गाउँमै बसेको बिगुल साइँलाको टाउको आज फुट्लाजस्तो भएको छ ।
‘च्या पसल’मा कोइराला काका पिरो हुनुभयो । भन्नुभयो, ‘यो व्यवस्था आएर के भो, जग्गाको भाउ बढेर के भयो ?’ बिगुल साइँलाले नरम भएर सोध्यो, ‘किन काका ?’ सोध्न नपाउँदै जवाफ आयो, ‘२० वर्षअघि छोरा क्यानडा पठाउन १५ लाख लाग्थ्यो, सबै जग्गा बेच्दा ८ लाख आउँथ्यो, ७ लाख ऋण लाग्थ्यो, अहिले छोराछोरी पठाउन ५० लाख लाग्न थाल्यो, जग्गाजमिन बेच्दा ३५ लाख आउँछ, १५ लाख ऋण खोज्नै पर्छ, आनामा जग्गा बिकेर के भयो, दलाल पुँजीवादलाई मात्र यो व्यवस्था काम लागिरहेको छ ।’ काका घनश्याम भुसालको भाषण मन पराउने व्रmान्तिकारी अगुवा हुनुहुन्छ । हो, उहाँले भनेको सामान्य भए पनि यो वर्ष मात्रै २६ अर्ब रूपियाँभन्दा बढी रकम हामीले छोराछोरीलाई विदेश पठाउन सकाएछौँ । २० हजारको बोका बेचेर कसरी यो सब सम्भव छ ? बुढेसकालमा न सन्तान छन् न सम्पत्ति ? बिगुल साइँला परिवर्तनका नाममा अँध्यारोले घेरिरहेको धमिलो दृश्यको डरले हतार हुँदै गइरहेको छ ।
‘क्याम्पसको फर्म भरिस् त ?’ घर नआइपुग्दै पिँढीको डिलमै प्रश्न तेर्सियो । साइँलाले झट्ट सम्झियो, ‘सधैँ हस्याङफस्याङमै बित्यो, आज अन्तिम है ?’ आज मात्रै के हुनु, जहिले अन्तिम दिन बिल तिर्न खानेपानी र बिजुली अफिसमा लाइन बस्ने आदत । कहिले सर्भरले काम गरेन, कहिले सिस्टमले धोका दियो, कहिले कर्मचारी बिदामा भनेर काउन्टर बन्द । हर्जाना र जरिवानाचैँ जनताले तिर्नुपर्ने । जहाँ पनि अन्तिम दिन यस्तै हतारो । दसैँमा फूलपातीका दिन र तिहारमा लक्ष्मीपूजाका दिन पैसा खोजेर किनमेल गर्ने बानी परिसक्यो । असार र पुस मसान्तमा बिदा, शनिवार परे पनि किस्ता, ब्याज र हर्जाना तिर्न ताकेता । थाहा छैन, यो हस्याङफस्याङले बिगुल साइँला मात्रै होइन, सिङ्गो समाज, गाउँ, प्रदेश, देश कता दौडिँदै छ ? दौडेर गन्तव्यमा पुगेर सुस्ताउन भ्याउला र ? यो हस्याङफस्याङमा हारिएला कि जितिएला ? जता पनि जवाफविहीन भएर दौडिरहनुपर्ने, अन्तिम दिन मात्रै होस खुल्ने कस्तो नियति बन्यो ?’ ओहो ! पुस मसान्तमा बैङ्क र सहकारीको तारन्तार फोनले एउटा तार नै चुँडिएछ नि ?’ बिगुल साइँलाको कुरा नसकिँदै पत्नीले सोधी, ‘अरु त सबै छुट्यो छुट्यो, अब फेरि मैले थाहा नपाएको के छुट्यो ?’ ‘यति धेरै विषयवस्तु छन्, कुनै विषय, पात्र, परिवेश मिलाएर एउटा कथा लेखौँला भनेको हेर्दाहेर्दै पुस ३० सकिएछ नि’ साइँलाले यति भन्न नपाउँदै पत्नीको आक्रोशयुक्त पेचिलो वाणी आयो, ‘कुनचैँ काम समयमा गरेको हो र एउटा कथा समयमा लेख्न भ्याउनुहुन्छ, यसपालि पनि मौका गयो होइन त, अझै २ घण्टा बाँकी छ त, दिमागले काम गरे ।’ ‘हो है, रातको दश त बजेको हो, फेरि हस्याङफस्याङ गर्दै कपीकलम खोजेर साइँला कथा लेख्न खोज्दै थियो, झल्याँस्स भयो, हैट, विपना त हस्याङफस्याङमा बित्यो नै, सपनामा पनि छाडेन हस्याङफस्याङले । भर्खर रातको १२ बज्दै रहेछ । सामाजिक सञ्जालतिर आँखा लगायो निद हराउला भनेर हस्याङफस्याङमै निदाउन खोज्यो । कथा के लेख्नु, कसको लेख्नु, कतिको लेख्नु, कहिलेसम्म लेख्नु, किन लेख्नु ? यावत् प्रश्नहरु हस्याङफस्याङ गरेर दिमागमा घुमिरहेका थिए । उत्तरहरु कतै मौन धारण गरिरहेका थिए सायद । उत्तर दिने केही मन्त्रीचैँ माइतीघर, लोकल बसमा झल्याकझुलुक समाचारमा देखिइरहेका थिए ।