गगन योक्पाङ्देन
(मिक्लाजुङ मोरङ)
अब म तिमीबाट यसरी छुटिन्छु
जसरी छुटिन्छ
– हाँगाबाट फूल
– मुहानबाट पानी
– आँखाबाट आँसु
अब तिमीले पनि मलाई
यसरी भुलिदिनू जस्तो,
– म एक दुस्स्वप्नमा थिएँ
तिम्रो झस्काइसँगै टुटिगएँ
– शीतको एक नाजुक थोपा थिएँ
घामको तापसँगै बिलाइगएँ
– सिमलको मामुली भुवा थिएँ
बतासको झोक्कासँगै उडिगएँ
अब तिमीले मलाई यसरी भुलिदिनू
जसरी भुलिजान्छ शरीरबाट प्राण
तिम्रो आँखामा नसुहाउने सपना
तिम्रो अधरमा नखुल्ने मुस्कान
सम्भवतः
म यस्तै यस्तै केही थिएँ
अब म तिमीबाट यसरी टाढिन्छु कि,
तिम्रो याद बनेर बाडुली पनि
मसम्म कहिल्यै आइपुग्ने छैन ।