गणेशप्रसाद भट्टराई
(सूर्योदय नगरपालिका ८, कन्याम, इलाम)

धेरै वर्षपछि सहरबाट गाउँ फर्किंदा मैले एउटा कथा सुनेँ । मैले सुनेको कथा यस्तो थियो:
‘साइँला ! तैँले पनि छोरो पढाउन सक्छस् र ? हाम्रो कान्छालाई त महिनामा एक जोर जुत्ता चाहिन्छ । दिनमा पचासको त खाजा नै लाग्छ । किताबकापी किनिदिने हैसियत त छैन तेरो ! कसरी पढाउँछस् ! बरू यसो घुम डोको बुन्न सिका । मेरामा काम गर्न पठाइस् भने पनि म पाँच रूपियाँसम्म रोज दिन्छु । फेरि रिन माग्न आइस् । पोहोर बेसाहा किन्न लगेको रिनको ब्याज तीन कोरी भइसक्यो । अब थप्ने काम मबाट हुँदैन ।’
‘हैन बाउन्दाइ ! छोरो राम्रो पढ्दै छ । यसपालि जिल्लामा फस भयो रे ! पढ्छु भन्छ । उसको मन मार्न मन छैन । यसपालिको अलैँची, आलु, कुचो गरेर तिरिहाल्छु नि दाजु ! तपाईंले भनेकै ब्याजमा दिनुहोस् न !’
‘खै के तिर्लास् ! खोले खान गारो छ । फेरि पढेर तेरो छोराले पैसाको खोलो बगाउला भन्ने पो के छ र ! हाम्रो कान्छालाई त कति गारो छ ।’
साहिँला बाजे छोरो पढाउन रिन खोज्दै अर्जेल माइलाकहाँ गएका थिए । यी दुईका बिचको यस्तो संवादपछि बाजे निराश हुँदै रित्तो हात फर्के । घरकै छेउको कान्लाको सिल्टिमुरको घाँस झारेर घरमा पुगे ।
‘दिए त अर्जेलले पैसा ? अनुहार त खुसी देख्दिनँ । के भने ?’ काँधमा बोकेको घाँस भुइँमा राख्न नपाउँदै साहिँली मुखिनी बोलिन् । ठाडे बटुकामा चिसो पानी दिँदै उनी लोग्नेका छेउमा बसिन् । खोरमा बाख्रा कराउँदै थिए । वास्तविक नाम विनायक भए पनि लुते भनिने उनीहरुको छोरो बाख्राको खोर छेउमा घाम ताप्दै थियो ।
‘के दिन्थे ! उनकै छोराको बखान गरे ! गरिब हुनु सारै गारो रहेछ बुढी ! यसलाई पढाउन त मन छ नि ! हेड सरले पनि सारै चलाख छ तेरो छोरो, राम्रो स्कुलमा लगेर मेट्रिकसम्म चाहिँ पढा है भन्दै थिए । हाम्रो स्कुलमा आठ किलासपछि छैन । करफोक स्कुल त्यति टाढा छ । डेरा खोजिदिऊँ, पैसा छैन । हिँडेर जान सक्दैन होला ! महिनामा एक जोर जुत्ता चाहिन्छ रे तिनका छोरालाई ! बेसाहा पेल्न नसक्नेले पढाउने सपना नदेख्नू रे । उनकामा काम गर्न पठाउनू रे ! त्यसो भनेर पठाए मलाई त !’
‘ए… गरिब भनेर हेपेको तिनले ! म पढाउँछु मेरो छोरोलाई ! लुगा पो फाट्छ, मेरो शरीरको छाला त फाट्दैन नि ! काम गर्न सक्छु म पनि ! म र तपाईं भएर रगतपसिना चुहाएर पढाउनुपर्छ यसलाई ! निरौला ज्योतिषिले राजतिलक लाउँछ भनेका छन् । यसैले पाल्छ हामीलाई !’
मुखिनीको रगत उम्लेर आयो । उनमा गाउँका धनीमानी ठानिएका माइला अर्जेलप्रतिको घृणा स्पष्ट देखिन्थ्यो । बुढीको आँट र भरोसा सुन्दा साहिँला बाजेको अनुहार पनि धुम्मिएको रातमा उदाएको चन्द्रझैँ देखिन्थ्यो ।
बाबुआमाको कुरा सुनिरहेको विनायकले पनि के सम्झ्यो, आफ्ना दुइटै हातको मुट्ठी दरोसँग कस्यो र खोरबाट बाख्रा निकालेर टाट्नातिर धपायो ।
राणाकालमा साइँला बाजेका पुर्खा मुखिया थिए रे । त्यसैले गाउँलेहरु अहिले पनि उनलाई मुखिया र उनकी पत्नीलाई मुखिनी भनेर बोलाउँथे । खानलाउनको असाध्यै दुःख थियो । छ जना सन्तानकी आमा मुखिनी निरक्षर भए पनि हरहिसाबमा अब्बल थिइन् । घरमा खोलेफाँडो, च्याँख्ला मात्र पाक्थ्यो, चामलको भात खान ससुराको श्राद्ध पर्खनुपथ्र्यो तापनि उनीहरुले छोराछोरीलाई भने स्वाभिमान सिकाएका थिए ।
‘बा म पढ्दिनँ ।’ टाट्नामा बाख्रा बाँधेर फर्केको विनायकले बाका छेउमा आएर भन्यो, ‘बरू मलाई घुम, डोको बुन्न सिकाइदिनुहोस् । म काम गर्छु, भाइबहिनीलाई पढाऔँ । म पनि आमासँग सागपात रोप्छु, मेलापात जान्छु । पढेर पो के होला र ! सिप सिके बाँचिएला नि बा !’
‘हैन हाम्रा कुरा सुनिस् कि क्या हो ?’ साहिँला बाजेले यति भने । विनायकले पुलुक्क बाआमातिर हे¥यो । बा घाँटीमा भिरेको गम्छा र आमा मजेत्रोको फेरले आँखाका कोस पुछ्दै थिए ।
‘आइज् तँ र म साग टिपौँ । आज कान्छा साहु आउँछन् सब्जी किन्न ।’ मुखिनीले कुरा मोडिन् र विनायकलाई लिएर मलखाडीमुनि रोपेको साग टिप्न हिँडिन् । बाजेले कन्सिरी थिचेर टाउको समाए । मुखिनीले दिएको पानीको अन्तिम घुट्को लिए र मकैको खोस्टामा कक्कड बेर्न थाले ।
‘बाबु ! तैँले जसरी पनि पढ्नुपर्छ ! ती अर्जेलका छोराभन्दा पनि धेरै पढ्नुपर्छ । हामी गरिबले पढ्यौँ भने हाम्रा दिन फिर्छन् रे । अस्ति वडाध्यक्षले भनेको सम्झेको छस् नि, पढेका मान्छेले पैसा सजिलै कमाउँछन् रे ! हाम्रो खेतबारीले खान त पुग्दैन । बाख्रापाठा पाल्नुपर्छ, मेलापात गर्नुपर्छ, तँलाई पढ्न पुगिहाल्छ नि ! म सक्छु नि काम गर्न ! तँलाई भर्ना गर्ने पैसा त पोहोर तेरो मावल जाँदा मामाले टीका लाएर दिनुभा’छ नि ! चिन्ता नगर् है !’ साग टिप्दाटिप्दै मुखिनीले विनायकलाई धेरै कुरा पढाइन् । चलाख विनायकले इमानदार विद्यार्थीले झैँ आमाको मर्म, बाध्यता, यथार्थ र अवस्था बुझिहाल्यो ।
‘आमा म पनि तपाईंसँग जङ्गलमा निगुरो खोज्न जान्छु ल । बासँग घुम र डोको बुन्न सिक्नुप¥यो । शनिबार घुम र डोको बुनेर फिक्कल लगेर बेच्न पाइयो भने मेरो फि तिर्ने पैसा भइहाल्छ । बाले चोया काडिदिइहाल्नुहुन्छ ।’
‘हो बाबु ! सक्ने काम सबैले गर्नुपर्छ । यी धनीमानी हाम्रा पसिनाले मोटाएका हुन् । कति कसेर ब्याज लिन्छन् । हेर् तेरा बालाई पनि कति गारो छ । यसपालि नारदको खेत पनि कमाउने कुरा गर्दै हुनुहुन्छ । अब तैँले पढेर भाइबहिनीलाई पनि सिकाउनुपर्छ ।’
आमाका कुरा सुनेर विनायकले बलियो भएको महसुस गर्यो । यति बेरमा आमाछोराले बिस मुठा साग टिपिसकेका थिए ।
‘दुई कोरी आउँछ है यतिले ?’ आमाले विनायकलाई देखाउँदै भन्नुभयो ।
‘दुई कोरी भनेको त चालिस रूपियाँ हो आमा ! चालिस भन्नु न, पाँच किलो चामल आउँछ ।’
‘चामल होइन बाबु, तँलाई एउटा सर्ट र चप्पल किन्नुपर्छ ।’ मुखिनीले मुस्कानसहित सुनाइन् ।
आमाछोरा घरमा आए । बाजे मही पार्दै रहेछन् । विनायककी बहिनी डल्ली भोक लाग्यो भन्दै थिई । मुखिनीले चुलो बालिन् र खोले ओडालिन् । सबै वरिपरि बसेर कोदाको खोले र इस्कुसको तरकारी खाए अनि एक एक बटुका मही पिए ।
फागुनको १० गते स्कुल खुल्यो । मुखिनीले मुखियासँग भनिन्, ‘कति लाग्छ भर्ना गर्न ?’
‘हैन यसले फस भएर पुरस्कार पायो रे ! स्कुलमा चेक आउँछ भन्दै हुनुहुन्थ्यो हेड सरले, हिजो फिक्कलमा भेट भा’थ्यो । के हो चेक भन्या ?’
‘पैसा होला ! कि किताब हो कि ! इस्कुसका मुन्टा पलाएछन् । म त्यही बेच्न आइतबारे जान्छु । हेड सरलाई पनि सोध्छु र यसको भर्ना गरेर आउँछु । अर्जेलको सेख नझारी भा’छैन । भेडाबाख्रा सम्झने हाम्रा सन्तानलाई !’
‘तातै खाऊँ जल्दै मरुँगर्नुहुन्न ।भरअभरतिनैकामलाग्छन्।’मुखियाले स्वाभाविक जवाफ दिए।
मुखिनीले थैली हेरिन्, २५ रूपियाँ त रहेछ ।
‘इस्कुसका मुन्टा पनि बेच्छु । हेड सरलाई भेटेर सोध्छु पनि र भर्ना गरेर आउँछु । अलिक दिन गारो हुन्छ अनि यो हिँडेर जान सक्छ । मेरो रगत हो हिम्मत हार्दैन यसले ।’ मुखिनीले दरै आँट गरिन् ।
‘आमा हाम्रो पेवा डल्ले खुर्सानी बेचेको पैसा पनि छ नि खुत्रुकेमा । बिरामी पर्दा चलाउने भनेको होइन ? त्यो हेरौँ न कति छ ?’
मुखिनीको अचम्मको नियम थियो । उनी बढेका दुई छोराछारीलाई काम गर्न सँगै लान्थिन् अनि जे रोप्दा पनि एकदुई बोटचाहिँ तिमीहरुको पेवा भनेर छुट्याउँथिन् । केटाकेटी आफै मलजल गर्थे । यसपालि बर्खामा दाजुबहिनीले दुई दुई बोट अकबरे खुर्सानी पेवा रोपेका थिए । बाख्राको जुत्तो, मल आफै हाले । दुई किलो फलेको थियो । त्यसबाट आएको २० रूपियाँ उनले बाबुले बनाइदिएको बाँसको खुत्रुकेमा हालिदिएकी थिइन् । अहिले एउटा पाठी दाजुबहिनीलाई पेवा पाल्न दिएकी थिइन् । त्यसलाई घाँस हाल्ने काम दाजुबहिनीले नै गर्थे ।
‘पर्दैन । त्यो राखिराख्नुपर्छ ।’
मुखिनी छोरालाई लिएर स्कुल पुगिन् । भर्ना गर्न दश रूपियाँ र मासिक शुल्क नौ रूपियाँ मात्र लाग्ने रहेछ । उनी छोरालाई कक्षा ८ मा भर्ना गरिदिएर फर्किन् । विनायकलाई स्कुलमा देखेर त्यही स्कुलमा पढ्ने अर्जेलको छोराले कर्के आँखाले हे¥यो तर केही भनेन । फर्कंदा उनले हेड सरलाई भेटिन् । चेकका बारेमा सोधिन् । विनायकले जिल्लामा प्रथम भएबापत २०० रूपियाँ पुरस्कार पाएछ । शिक्षा कार्यालयले दिएको चेक हेड सरले ल्याउनुभएको रहेछ ।
‘विनायकले २०० पुरस्कार पाएको छ । यो चेक बैङ्कमा गएर साट्नुपर्छ । म भोलि साटिदिन्छु । पर्सि बाबुलाई लिएर स्कुलमा आउनू है पैसा लिन ।’ हेड सरले स्याबास राम्रो पढ्नू भन्दै यो कुरा सुनाउनुभयो । मुखिनीको अनुहारमा एकैचोटि पूर्णचन्द्रको प्रभा देखियो ।
बाटामा धेरै मानिस भेटिए । साहिँला मुखियाको छोरो पनि आठ कक्षामा भर्ना भयो भन्ने सुन्दा कतिले पत्याएनन् । कतिले गरिब भए पनि यिनीहरुको बुद्धिचाहिँ मान्नुपर्छ भन्दै प्रशंसा गरे । घरमा पुगेर मुखिनीले सबै कुरा साहिँला बाजेलाई सुनाइन् । बाजेले खुइय्य गरेर लामो सास ताने र के के सोच्न थाले । केही बोलेनन् ।
समय बगि नै रह्यो । विनायक बिहानै उठ्थ्यो । विद्यालय पुग्न झन्डै तीन घण्टा हिँड्नुपथ्र्यो । बाबुले पल्लो गाउँबाट आधा दाममा पुराना किताब किनेर ल्याइदिएका थिए । तिनै पुस्तक केही बेर पढ्थ्यो । मुखिनीले घरमा जे जुट्थ्यो, त्यही बनाइदिन्थिन् । कहिले पिँडालु र इस्कुस उसिनेर, कहिले मकै भुटेर, कहिले च्याँख्ला र माड हालेको गुन्द्रुक खाएर विनायक स्कुल जान्थ्यो । उसको ध्यान पढाइमा थियो । थकान, मनोरञ्जन र गफ उसले कहिल्यै सोच्न भ्याएन । टुकी बालेर रातीसम्म पढिरहन्थ्यो । मुखिनीले सुत्न कर गर्दा पनि ऊ गृहकार्य गर्नमा व्यस्त रहन्थ्यो । आमा तातो पानी, चिया आदि दिन्थिन् र टाउको मुसारेर मातृवात्सल्य दर्साउँथिन् । अरु केटाकेटीलाई फकाएर सुताउनु पनि उनको दैनिकी नै थियो ।
‘ए नानी ! यहाँ के लेखेको छ । चित्रमा यो सानी केटी डोरी बाट्दै छ । के लेखेको छ यहाँ ?’ बजारबाट मसला पोको पारेर ल्याएको कागज देखाउँदै मुखिनीले विनायकसँग सोधिन् ।
उसले पढ्यो र भन्यो, ‘यो केटीलाई सौतेनी आमाले हेपिछन् । स्कुल जान दिइनछिन् अनि ऊ अर्काको घरमा काम गर्न बसेर पढ्न थालिछ । यसले दाम्ला बाट्न सिकिछ । यसबापत घरधनीले पढ्न पठाइदिएछन् आमा !’
‘ओहो ! पढ्न कति गारो रहेछ है ! हामीले त पढ्न पाएनौ !’
आमाको चिन्ता देखेर विनायकले भन्यो, ‘आमालाई म सिकाउँछु नि ! पढ्ने हो ? म आवाज निकालेर पढ्छु । तपाईं सुन्नू आजदेखि ! हुन्छ?’ विनायकले ठट्टाको भावमा भन्यो । आमाले केही भनिनन् ।
विनायक पढिरहन्थ्यो । उसले बुबासँग डोकोघुम बुन्न र दाम्लानाम्ला बाट्न सिक्यो । बारी जोत्न र दाउरा काट्न सिक्यो । बिदा र फुर्सदका समयमा ती परिवारका आयआर्जनका माध्यम बने ।
‘आमा, आज नाम लेख्न सिक्ने है ?’ विनायकले पेन्सिल आमाको हातमा राखिदियो र हात समाएर कापीमा लेख्न लगायो ।
‘बुढेसकालमा म तेरो शिष्य बन्छु होला !’ आमाले हाँस्दै लेख्ने कोसिस गर्नुभयो ।
विनायकले हात समाएर आमाको नाम लेखिदिँदै भन्यो, ‘यी आमाको नाम यसरी लेख्नुपर्छ । यी योचाहिँ आमा लेखेको हो ।’
मुखिनीले आफूले कोरेको अक्षर हेरिन्, अर्जेलका वचन सम्झिन्, लोग्नेको फाटेको कमिज हेरिन्, आफ्ना फुटेका खुट्टा हेरिन् र अक्षर हेरेर मुस्काइन् । आज शनिबार थियो । विनायकले नुहाउने, लुगा धुने काम गर्यो । मुखिनीले दिउँसो विनायकलाई नदेखाई आफ्नो नाम पुनः लेख्ने कोसिस गरिन् । आमा शब्दलाई राम्ररी नियालेर हेरिन् र आफ्नी आमा सम्झँदै त्यो शब्द लेख्ने प्रयास गरिन् । बिहान लेखेजस्तो त भएन तैपनि उनलाई खुसी लाग्यो ।
विनायक आवाज निकालेर पढ्थ्यो, आमा घरघन्दा गर्दै सुन्थिन् । विनायक लेख्न थाल्थ्यो, आमा कलम बोकेर त्यस्तै लेख्ने प्रयास गर्थिन् । कहिलेकाहीँ साहिँला बाजे रामायण र महाभारतका सिलोक हाल्थे, मुखिनी त्यही दोहोर्याउँथिन् । उनलाई यसरी सिक्दा नौलो लाग्दैनथ्यो, मात्र लाग्थ्यो आफ्नो छोराले राम्रो गरोस् । एक वर्षमा त छोरासँगै सिकेर उनले साउँ अक्षर र मात्रा लागेका अक्षर पढ्न र लेख्न सकेकी थिइन् ।
‘आमा ! आमा ! एसएलसीको रिजल्ट आयो ! चिनमणि दाइको त रिजल्ट बिग्रेछ ।’ चिन्तामणि अर्जेलको छोरो थियो ।
यो सुन्नासाथ मुखिनीले भनिन्, ‘ल्या, तिनका जुत्ताले पनि काम गरेनछ । तिनका जुत्ताभन्दा मेरा छोराका चप्पल बलिया छन् । अर्को साल छोराले राम्रो रिजल्ट ल्याउँछ है !’ फेरि मुखिनीको अनुहारमा चमक देखियो । आज उनले साँझ पर्नुअघि नै घरधन्दा सकिन् र साँझ बत्ती बालेर एक दिन नारद सत्यलोक … भट्याउन थालिन् ।
अर्को वर्ष पनि एसएलसीको रिजल्ट आयो । विनायकले प्रथम श्रेणीमा पास गरेछ । जिल्लाभरमा उसले मात्र प्रथम श्रेणीमा पास गरेको खबर हावाझैँ फैलियो । आज मुखिनीले घ्याम्पामा जोगाएर राखेको चामलको भात पकाइन् । उनीहरुले घरमा श्राद्ध नपर्दै पहिलोपटक चामलको भात खाए । भात खाएर धेरै बेर गफ गरे । गफकै प्रसङ्गमा मुखिनीले भनिन्, ‘छोरा अब तँ र म भएर डल्लीलाई पनि मेट्रिक गराउनुपर्छ है ।’
आज छोराका आँखामा आँसु देखिए । मुखिनी सुन्दरकाण्ड पुरै पढेर मात्र सुतिन् । यसपछि के भयो, मलाई थाहा भएन तर पछि सुनियो मुखिनी गाउँकी वडाध्यक्ष बनिन् रे अनि गाउँमै माध्यमिक विद्यालय खोलेर परलोक भइन् रे ।

Facebook Comments Box

Similar Posts