– रासा

अचानक उसको मृत्यु भयो ।
कारण के हो,
थाहा पाइएन ।
सायद कालगतिले नै होला !
+ + +
उसको शवलाई घाटमा लगियो ।
साथमा,
एक हुल शोकमग्न मलामीहरु छन् ।
+ + +
घाटमा पुर्याइएपछि तत्काल ब्रह्मनालमा सुताइयो ।
जे–जति गर्नुपर्ने हो, सम्पूर्ण गरियो ।
+ + +
पछि शवलाई जलाउन चितामाथि राखियो ।
+ + +
आफन्तको रूवाबासी चलिरह्यो ।
+ + +
तत्क्षण मुखाग्नि दिइयो ।
शव जल्न थाल्यो ।
+ + +
हठात् शव चल्मलाउन थाल्यो र उठ्यो पनि ।
अनि,
चिच्यायो, ‘साला…सबका सब ढोँगीहरु ….स्वार्थीहरु !
बाँचुन्जेल मार्न खोजे । अहिले मरेपछि रोएर देखाउँछन् ।
गोहीहरु कहाँका !
थुइक्क !’
+ + +
सबै डरले भाग्छन् ।
+ + +
घाट सुनसान छ यतिखेर ।
+ + +
(नेपाली साहित्यमा रासा अध्ययनशील स्रष्टा हुन् । हेटौँडा पुख्र्यौली घर भई काठमाडौंको देवपाटनको
स्थायी बासिन्दा यिनी उत्कृष्ट कविता, गजल, मुक्तक, हाइकु, गीत, लघुकथा र कथा लेख्न खप्पिस
छन् । नेपाल भाषामा मूल लेखन र अनुवाद पनि उनको सौख हो । यिनी थोरै शब्द प्रयोग गरी बृहत्
अर्थबोध गराउने सामथ्र्य राख्छन् । हरेक विधामा काव्यको मिठास पस्किनु यिनको ध्येय हो । शील,
शान्त तर हक्की स्वभावका धनी यिनका अधिकांश लधुकथा विलोम शैलीसँग नजिक छन् । मिथक र
वास्तविक भावलाई सँगसँगै मिलाएर लेखिएको यस लघुकथामा सभ्य समाजको परिकल्पना पर्दापछाडि
गरिएको छ । – प्रस्तोता)

प्रस्तोता:दीपक लोहनी

Facebook Comments Box

Similar Posts