भीम कोइराला
जीवनको लामो कालखण्ड नोकरीमा बिताएपछि अवकाशपछिको जीवन धेरै दिनसम्म अल्छी, निरश र पट्यारलाग्दो हुन्छ भन्ने सुनेको थिएँ । कतिपय त रिटायर्ड भएपछि पनि दुईचार महिनासम्म साबिक कार्यालयसम्म पुगेर क्यान्टिनमा चिया पिएर आउँछन् भन्ने सुनेको थिएँ । म पनि विभिन्न जिल्लामा रही काम गर्दा पूर्वकर्मचारीहरु आएर समय बिताउन गाह्रो भएको कुरा सुनाउँथे । मधुपर्कको २०७० पुस अङ्कमा छापिएको डा.गोविन्दप्रसाद कुसुमको ‘रिटायर्ड लाइफ’ कथामा कर्मचारी जीवनपछिको समय कसरी व्यतीत हुँदोरहेछ भन्ने कुरा प्रस्ट्याउन खोजिएको छ । मैलै पनि तिस वर्षभन्दाबढी सरकारी सेवामा रहेर उमेरले अझै केहीवर्षदिँदादिँदै स्वेच्छिक अवकाश लिएँ । अवकाशपछिका केहीदिन पेन्सनपट्टा बनाउन, सञ्चय कोष, नागरिक लगानी कोष आदि धाउँदाधाउँदै व्यतीत भएकोले कार्यालय गए झैँ महसुस भयो । त्यसपछि केही दिन निकै उकुसमुकुस भयो । कहिलेकाहीँ त बेक्कारमा जागिर छाडेछु जस्तो पनि लाग्यो । समय कटाउने उपायस्वरुप आफूसँग भएका पुस्तक अध्ययन गर्न थालेँ । त्यसैबिच छोराछोरीले सल्लाह दिए, नेपाल भारत पुस्तकालय सुन्धारा र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटी मण्डपको सदस्य बन्ने र दिनभरि त्यहीँ गएर अध्ययन गर्ने । उनीहरुको सल्लाह खुरूक्क मानेर एक एक हजार धरौटी बुझाएर दुवै पुस्तकालयको सदस्यता लिएँ र धाउन थालँे । केही समयको निरन्तर अध्ययनपछि लेख्न मन लाग्न थाल्यो । धेरै समयदेखि मेरो दिमागमा एउटा विषयवस्तु घुमिरहेको थियो, आजभन्दा करिब पैँतालिसपचास वर्षअगाडिको पूर्वी नेपालको भित्री मधेसको सामाजिक अवस्थाको सन्दर्भ । यसै सन्दर्भलाई लिएर करिब तीन महिना लेखेपछि हेटान उपन्यास तयार भयो । हाल त्यो प्रकाशित भइसकेको छ । यसैबिच मेरा पुराना मित्र रामेश्वर काफ्लेले दक्षिण भारतमा तीर्थयात्रा जाने कार्यव्रmम रहेको जानकारी गराए । मलाई पनि सो टोलीमा समावेश गर्न अनुरोध गरेकाले मेरा लागि समेत रेलको टिकट लिएछन् । रेलको टिकट दुई महिनाअगाडि नै बुकिङ गर्नुपर्ने रहेछ ।
हाम्रो यात्राको प्रारम्भ २०७० साल आश्विन २३ गते अर्थात् ९ अक्टोबर २०१३ बेलुका ८.१५ बजे जोगवनीबाट रेल चढेर भयो । यात्रामा ईश्वरीप्रसाद काफ्ले र उहाँकी पत्नी यसोदा, मधुसूदन काफ्ले र उहाँकी पत्नी, रामेश्वर काफ्ले र उहाँकी पत्नी एवम् छोरा कैलाश, विश्वमणि काफ्ले,मेरी दिदी मनमाया ओझा, साइँली बजै र म भीम कोइरालासमेत बाह्रजनाको टोली थियो । अँध्यारोमा छामछामछुमछुम गर्दै जोगबनीमा रेल चढ्यौँ । करिब ८.३० तिर पटनाका लागि रेल छुट्यो । जोगबनी पटना ३९८ किलोमिटर दुरीको यात्रा रातभरिमा पूरा गरी भोलिपल्ट आश्विन २४ गते बिहान ५.१५ बजे पटना पुग्यौँ । पटनाबाट पूणेसम्मको रेल बेलुका १०.५५ बजे मात्र भएकोले दिनभरिका लागि प्लेटफर्ममा रहेको यात्रु वेटिङरूममा बस्ने विचार गर्यौं । सामान्य अनुरोधपछि बस्न पाइयो । राष्ट्रिय सहकारी बैङ्क नेपालका अध्यक्ष रमेश पोखरेल र उहाँका भाइ पत्रकार डिल्ली पोखरेलसमेतको टोली पनि यात्रामा निस्किएको रहेछ, त्यहाँ भेट भयो । पटनामा गङ्गा स्नान गर्ने सल्लाह भयो । हामी पटना मेडिकल कलेज छेउबाट गङ्गा किनारमा गयौँ तर साह्रै फोहोर भएकोले भाडाको मोटरबोट चढी अर्को किनारमा गई सफा पानीमा नुहायौँ ।
गङ्गास्नानपछि पटना सहर घुमेर बाँकी समय बितायौँ । बेलुका १०ः५५ बजे पटनाबाट पूणेका लागि रेल छुट्यो । करिब ३१ घण्टाको यात्रापछि १,७८० किलोमिटर दुरीे पूरा गरी आश्विन २६ गते बिहान ५ः३० बजे महाराष्ट्रको पूणे सहरपुग्यौँ ।
पूणेको रेलवे स्टेसनदेखि शिवाजीनगरसम्म टेम्पुमा गयौँ । पूणेको शिवाजीनगरबाट भीमाशङ्कर जाने सरकारी बस लाग्दोरहेछ । करिब चार घण्टाको पहाडी मार्गको बसयात्रापश्चात् करिब १२ बजे भीमाशङ्कर पुग्यौँ । भारतकाविभिन्न ठाँउमा रहेका शिवजीका बाह्र ज्योतिर्लिङ्गमध्ये डाकिन्याँ भीमाशङ्कर पनि एक रहेछ ।
भीमाशङ्कर भन्ने ठाउँ निकै उचाइमा पर्दो रहेछ । लेकाली कुइरोले ढाकेको जाडो हुने रहेछ । एउटा धर्मशाला खोजेर झोला थन्क्याएर मन्दिर दर्शन गर्न गयौँ । मन्दिरको छेउमा सानो कुण्ड रहेछ । चिसो निकै भए पनि सबैले पालैपालो नुहायौँ । मन्दिर परिसरमा क्यामेरा निषेध भएकोले फोटो खिच्न पाइएन । वरिपरि राम्रा चउर भएपनि दिसापिसाबले भरिई फोहोर भएकोले राम्रोसँग घुम्न पाइएन । दक्षिण भारतका पहाडको बनोट विचित्रको रहेछ । भीमाशङ्कर र आसपासका पहाड तलदेखि एउटै चट्टान खडाभएर अडिएको जस्तो देखिन्थ्यो । त्यो रात भीमाशङ्करमै बास बसेर भोलिपल्ट बिहान सिरडी जानबस चढ्यौँ ।
पूणेबाट सिरडी जाने राजमार्ग भीमाशङ्करबाट आउँदा मन्चरमा भेटहुँदो रहेछ । मन्चरमा आएर सिरडी जाने बस समाएर आश्विन २७ गते बेलुका ५ बजे सिरडी साईबाबा आश्रमअगाडि बसबाट उत्रियौँ । साईबाबा आश्रमभित्र गएर निकै प्रयास गर्दा मात्र बस्ने कोठा पाइयो त्यो पनि निकै महँगो एसीरूम। त्यहाँका कर्मचारीको व्यवहार पनि राम्रो लागेन, झर्कोफर्को गर्ने रिसाउने गर्दा रहेछन् । दिनभरि खाना नखाएकोले भोक लागेको थियो । आश्रममानैभोजन गरेर केहीक्षण आराम गरेर बाबाको दर्शन गर्न गयौँ । करिब ३ घण्टा लाइन लागेपछि दर्शन गर्ने सौभाग्य मिल्यो । कोठामा आउँदा रात्रिको ११ बजिसकेको थियो ।
भोलिपल्ट आश्विन २८ गते विजया दशमी टीकाको दिन, बिहानै घृष्मेश्वर शिवलिङ्गको दर्शन गर्न बसबाट औरङ्गावाद लाग्यौँ । अपराह्न २ बजे पुग्यौँ । औरङ्गावादबाट घृष्मेश्वर ३० किलोमिटर रहेछ । एउटा सानो गाडी रिजर्भ गरेर ३ बजे घृष्मेश्वर शिवालय पुग्यौँ । घृष्मेश्वरको प्रमुख विशेषतामा शिवलिङ्गको दर्शनको अलावा एलोरा गुफा रहेछ । सिङ्गो पहाड नै एउटा ढुङ्गाबाट बनेको रहेछ । सो पहाडलाई खोपेर गुफा बनाई गुफाभित्र दरबारमा जस्तो साजसज्जा गरिएको रहेछ । त्यस्तो चट्टानलाई काटेर सयौँ देवीदेवता, हात्ती, घोडा एवम् विचित्र किसिमका कलाकारिताले सजिएका आकृतिहरु कुँदिएको देख्दा आश्चर्य लाग्ने रहेछ । सयौँ कालिगढले धेरै वर्ष लगाएर निर्माण गरेको विचित्र कला मानव सभ्यताको जिउँदो इतिहासरहेछ । त्यस ठाउँमा जम्मा १६ ओटा गुफा रहेछन् । हामीले रिजर्भ गरेको मोटरले मुख्यमुख्य छ ठाउँ घुमायो । अजन्ता गुफाका बारेमा सुनेको थिएँ । तर एलोरा गुफाचैँ थाहा थिएन । अजन्ता गुफा पनि औरङ्गाबादबाट केही दुरीमा छ भन्ने सुनियो । त्यहाँ जाने कार्यव्रmम नभएकाले छुट्यो ।
घृष्मेश्वरस्थित धर्मशालामा बास बसेर भोलिपल्ट आश्विन २९ गते बिहान औरङ्गाबाद, नासिक हुँदै त्रयम्बकेश्वर जानेगरी एउटा मोटर रिजर्भ गर्यौं । औरङ्गाबादबाट करिब २५० किलोमिटर दुरीमा रहेकोले त्रयम्बकेश्वर, दिनभरिको यात्रापश्चात् बेलुका छ बजे पुग्यौँ । मुसलधारे वर्षा भएकोले गाडीबाट निस्किएर बस्नेठाउँ खोज्न निकै कठिन भयो । केही समयको प्रयासबाट माहेश्वरी धर्मशाला पुग्यौँ । पैसा पनि धेरै नपर्ने सफा सुग्घर एवम् ट्वाइलेट बाथरूम समेत एटेच भएका कोठा रहेछन् । त्यसैमा दुईकोठा लियौँ । दिनभरिको थकानले गर्दा सबैजना लखतरान भएका थियौँ । खाना खाएर सुतेपछि एकैचोटि बिहान मात्र थाहा पाइयो ।
भोलिपल्ट ३० आश्विन २०७० को दिन बिहान त्रयम्बकेश्वर शिवलिङ्गको दर्शन गर्यौं । गौतम ऋषिले आफ्नो तपशक्तिबाट गोदावरी नदी उत्पत्ति गराएको भन्ने विश्वास गरिँदो रहेछ । ब्रह्मा, विष्णु र महेश त्रिदेव शिवलिङ्गमा समाहित भएर भक्तहरुको उद्धार गर्न रहनुभएकोले त्रयम्बकेश्वर भनिएको रहेछ । मन्दिरअगाडि भक्तहरुले घाँसका मुठा किनेर प्रसादस्वरुप गाईलाई खुवाउने चलन रहेछ । हामीले पनि त्यसै गर्यौं ।
आश्विन ३१ गते नासिक हुँदै मुम्बै जानका लागि त्रयम्बकेश्वरबाट प्रस्थान ग¥यौँ । नासिकमा रामसीता वनबासमा रहँदा कुटी बनाएर बसेको पञ्चावटी भन्ने ठाउँ रहेछ । त्यति बेला जङ्गल थियो होला अहिले त ठुलो सहर भइसकेको रहेछ । पञ्चावटीमा सीता गुफा, सीतारामको मन्दिर आदिको दर्शन गर्यौं । नासिक सहरमा फलफूल असाध्य सस्तो पाइने रहेछ । अम्बा बिस रूपियाँ किलो, अनार पच्चिस रूपियाँ किलो, किसमिस सय रूपियाँ किलो । भाउ सुनेर हामी त छक्क पर्यौं । सबैले अलिअलि फलपूmल किन्यौँर केही समय घुमघाम गर्यौं । त्यसपछि सरकारी बस चढेर १२ बजेतिर मुम्बैका लागि प्रस्थान गर्यौं ।
मुम्बैको उत्तरी छेत्रमा पर्ने काँशीमिरा भन्ने ठाउँमा बेलुका ४ बजे पुग्यौँ । एकजना नेपाली मित्र देवमणि दाहालले फ्ल्याट किनेर बस्नुभएको रहेछ । उहाँको घरमा पाहुना हुन पुग्यौँ । भोलिपल्ट कार्तिक १ गते नजिकैको स्टेसन भाइन्दरबाट मेट्रो रेल चढेर मुम्बै घुम्न गयौँ । मित्र बिहानै काममा हिँड्नुभएकाले हामीलाई मुम्बै घुमाउने काम उहाँकी श्रीमती सरस्वती बहिनीले गर्नुभयो । मेट्रो रेलमा यात्रा गर्न निकै जानकार एवम् फुर्तिलो हुनुपर्ने रहेछ । चढ्न र ओर्लनको लागि तिससेकेन्ड मात्र रोकिने रहेछ । मेट्रोमा यात्रागर्ने अधिकांश यात्रु सङ्गीतमा रमाउँदा रहेछन् । भजनकीर्तन एवम् १९६० को दशकतिरका मोहमद रफी, मुकेश, किशोरकुमार आदिले गाएका पुराना हिन्दी फिल्मका गीत गाउँथे । एकजनाले गाएपछि सबैले साथ दिने हुँदा रेलयात्रा हो अथवा कुनै साङ्गीतिक कार्यव्रmममा गएको हो, पत्तै नहुने रहेछ ।
महिला र पुरूषको अलग अलग डिब्बा हुने रहेछ तर कथम्कदाचित्पुरूष डिब्बामा महिला चढे पुरूषले उठेर बस्ने ठाउँ दिँदा रहेछन् । पुरूषलाई भने महिला डिब्बामा चढ्न निषेध रहेछ । मेट्रोमा बस्ने सिट पाउनु भनेको चिट्ठा परेजस्तो हुँदो रहेछ । मुम्बैका मान्छे सफासुग्घर, सुकिलामुकिलादेखिन्थे । सडक पनि सफा । मुम्बादेवी मन्दिर,बैङ्कटेश मन्दिर, इन्डिया गेट र ताज होटल हेरीसहरको केही भाग घुम्यौँ । ताज होटल देख्दा केही वर्षअगाडि भएको आतङ्कवादी हमलाको याद आयो । गगनचुम्बी आकाशै छोला झैँ अग्ला घरहरु देख्दामलाई केही वर्षअगाडि भ्रमण गरेको दक्षिण कोरियाको सोल र बुसानको सम्झना भयो । दुवैसहर समुद्र किनारमा रहेका औद्योगिक एवम् फिल्मीनगरी भएकाले दक्षिण कोरियाको बुसान र मुम्बै उस्तैउस्तै लाग्यो ।
कार्तिक २ गते (१९ अक्टोबर २०१३) दिउँसो ३ः४५ बजे छत्रपति शिवाजी रेलवे स्टेसन मुम्बैबाट तमिलनाडु राज्यको पुछार भारतको दक्षिण विन्दु कन्याकुमारीसम्मको २,१३५ किलोमिटर लामो यात्राको लागि रेल चढ्यौँ । महाराष्ट्र छाडेपछि आन्ध्र प्रदेशको कुटी, कडरिया, तिरूपति चितुर एवम् कर्णाटका तथा केरलको त्रिवेन्द्रपुरम् हुँदै रेल जाँदो रहेछ । लगातार ४५ घण्टाकोरेलयात्रापश्चात् २१ अक्टाबर २०१३ को दिउँसो १२ः३० बजे कन्याकुमारी पुग्यौँ । रेलबाट उत्रनेबित्तिकै अटोरिक्सा खोजेर विवेकानन्द मठ गयौँ । पहिलेदेखि नै सुनेको हुनाले कोठा खोज्न गाह्रो भएन । सामान्य शुल्कमा राम्रो व्यवस्था भएको कोठा पाइयो । विवेकानन्द मठले पर्यटक एवम् तीर्थयात्रीका लागि राम्रो व्यवस्था गरेको रहेछ । खानाको पनि राम्रो व्यवस्था रहेछ । कन्याकुमारीको यात्रा गर्नेले अन्य ठाउँमा लज नखोजी सिधै त्यही जाँदा हुने रहेछ । लामो यात्राले थकाइ निकै लागेको थियो । समय रहेकोले हामी केही क्षणको आरामपछि कन्याकुमारीको दर्शन गर्न गयौँ । विवेकानन्द ध्यान केन्द्र एवम् स्ट्याचु भएको ठाउँमा जान समुद्रमा चल्ने सानो पानीजहाज चढ्नुपर्ने रहेछ । कन्याकुमारीको मन्दिर भने वारि नै रहेछ । बेलुकै दर्शन गरिसकियो । कन्याकुमारी मन्दिरको पछाडिपट्टि समुद्र किनारको बालुवामा शङ्ख एवम् मोतीको व्यापार हुँदो रहेछ । दलाली गर्न सक्यो भने अन्य ठाउँभन्दा सस्तोमा शङ्ख पाइने रहेछ ।
विवेकानन्द मठको छेउमै रहेको समुद्रको किनारबाट बिहानदेखिने सूर्योदय हेर्न गयौँ । समुद्रबाट सूर्योदय भएको दृश्य अद्भुतदेखिँदोे रहेछ । केही समयसम्म समुद्रको छालसँग रमाइलो गरेपछि कन्याकुमारी सहर घुम्यौँ । त्यसपछि मदुरै जाने कार्यव्रmम भएकोले बस स्टेसनतर्फ गयौँ । कन्याकुमारीबाट मदुरैसम्मको दुरी २४२ कि.मि.रहेछ । कार्तिक ५ गते बिहान ११ः०० बजे मदुरै जान बस चढ्यौँ । कन्याकुमारीदेखि कास्मिरको श्रीनगरसम्म जोडिएको राष्ट्रिय राजमार्गको बसयात्रा निकै रमाइलो थियो । कोटेश्वर–सूर्यविनायकको रोडभन्दा दोब्बर फराकिलो भएर सलल बगेको राजमार्ग साँच्चिकै भव्य रहेछ । कोरियाको सोल सहरदेखि बुसानसम्मको पाँच सय किलोमिटरको राजमार्गजस्तै लाग्यो । कन्याकुमारीदेखि कस्मिरको श्रीनगरसम्मको ३,५८४ किलोमिटर दुरीको राजमार्ग निर्माण गर्दा कति खर्च लाग्यो होला ?कल्पना गर्न पनि कठिन ।
लगभग १ लाख ३० हजार वर्गकिलोमिटर क्षेत्रफलको तमिलनाडुमा सात करोड २१ लाख जनसङ्ख्या रहेछ । क्षेत्रफलमा नेपालभन्दा सानो भए पनि जनसङ्ख्या दोब्बरभन्दा बढी रहेछ । मोटरले घरिघरि राजमार्गबाट ग्रामीण क्षेत्रमा प्रवेश गराउँथ्यो । त्यहाँको ग्रामीण जीवन नेपालको तराईका ग्रामीण क्षेत्र अथवा बिहारको पिछडिएको गाउँजस्तो लाग्थ्यो । भिख माग्नेको समूह जताततैदेखिन्थ्यो । हिन्दी भाषा फिटिक्कै बोल्न नचाहने बसका स्टाफले अङ्ग्रेजीमा सम्झाएपछि हामी तीर्थयात्री भन्ने बुझेर मदुरैको मिनाक्षी मन्दिर अगाडिसम्म मोटर पुर्याएर रोकिदिए ।
नजिकको एउटा लजमा झोला बिसाएर मिनाक्षी मन्दिरको दर्शन गर्न गयौँ । मिनाक्षी मन्दिरको भव्यताको विषयमा मैले पहिले नै पढेको थिएँ । त्यहाँ पुगेर हेर्ने सौभाग्य मिल्यो । भारतमा रहेका सम्पूर्ण हिन्दु मन्दिरमध्ये कलाकारिता, भव्यताएवम् विशालताको हिसाबले मदुरैको मिनाक्षी मन्दिर सायद पहिलो नम्बरमा आउँछ होला । कसरी निर्माण भयो होला त्यति भव्य मन्दिर ?
भोलिपल्ट कार्तिक ६ गते मदुरैबाट लोकल ट्रेन चढेर रामेश्वरमका लागि बिहान ६ः३० बजे प्रस्थान गर्यौं । चार घण्टापछि रामेश्वरम पुग्यौँ । रामेश्वरम द्वीप पुग्न करिब दश किमि लामो समुद्रमाथि बनाइएको पुल हुँदै जानुपर्ने रहेछ । रेल र मोटरको लागि अलगअलग पुल रहेछ ।
रामेश्वरमस्थित रामेश्वर शिवलिङ्गभव्य रहेछ । मन्दिरनजिकै समुद्र रहकाले समुद्रमा स्नान गरेर मात्र दर्शन गर्ने चलन रहेछ । समुद्रको छालको धक्का नलाग्ने, फराकिलो ठाउँ र सामान्य गहिराइ भएकाले हजारौँ मान्छे स्नान गरेरर पौडी खेलेर रमाउँदा रहेछन् । हामीले पनि करिब एक घण्टासम्म समुद्रमा पौडी खेल्यौँ र स्नान गरेर बितायौँ । जीवनमा पहिलोपटक समुद्रमा पौडी खेल्न पाइएको हुँदा निकै रोमाञ्चित भइरहेको थिएँ । स्नानपश्चात् सोही दिन मन्दिरको दर्शन गर्यौं । पत्नी सीतालाई रावणले हरण गरेर लङ्का लगेको हुँदा सीता खोज्न लङ्का जाने क्रममा समुद्र किनारमा भगवान्श्रीरामले बालुवाको शिवलिङ्ग बनाई पूजा गरेको विश्वास गरिँदो रहेछ ।
राम, लक्ष्मण, हनुमानलगायत बानर सेना रावणसँग युद्ध गर्न लङ्का जाने मार्गका लागि समुद्रमा निर्माण गरेको सेतुबन्ध पुल रामेश्वरम टापुको पुछारमा पर्ने धनुषकोठी भन्ने स्थानबाट हेर्न सकिने रहेछ । हामीले पनि हेर्यौं, समुद्रमा केही सेतो आकृति मात्रदेखिने रहेछ । त्यसैलाई सेतुबन्ध भनिँदो रहेछ ।
रामेश्वरममा तीन दिन बसेर २०७० कार्तिक ८ गते बेलुका ८ बजे चेन्नाई हुँदै कान्चीपुर जान रेल चढ्यौँ । कार्तिक ९ गते बिहान ८ः२० मा चेन्नाई पुग्यौँ । चेन्नाईबाट लोकल ट्रेन चढी १०ः३० बजे कान्चीपुरमका लागि प्रस्थान गर्यौं । दिउँसो १ः३० बजे कान्चीपुरम पुग्यौँ । एकम्बरनाथ मन्दिरको छेउमा कोठा लिई झोला बिसाएर केहीक्षणको विश्रामपछि मन्दिरहरुको दर्शन गर्न निस्कियौँ । मोटर भाडामा लिएर त्यहाँका विभिन्न मन्दिरको दर्शन गर्न हिँड्यौँ । कामाक्षी देवी, कैलाशनाथ मन्दिर, उलगलन्द पेरूमल मन्दिर(वामन अवतार) कच्छपेश्वर मन्दिर, वैकुण्ठ पेरूमल मन्दिर, बरदा पेरूमल मन्दिर, छिपकली मन्दिर (सुनको माउसुली सिडिङमा राखिएको)आदिको दर्शन गर्यौं । एउटा मन्दिरमा कान्चीकामकोटीका पीठाधीश शङ्कराचार्य (समय समयमा नेपाल आइरहने) र राजा वीरेन्द्रको फोटोसमेत राखेकोदेखियो ।
कार्तिक १० गते बिहान ९ बजे तिरूपति जान बसबाट प्रस्थान गर्यौं । दिउँसो १२ः०० बजे आन्ध्र प्रदेशको तिरूपति पुग्यौँ । तिरूपति सहरमा रहेको गोविन्द मन्दिर छेउको वैष्णव उत्तराधी मठ धर्मशालामा बस्ने व्यवस्था मिल्यो । धर्मशालामा बिहानबेलुका भोजन निःशुल्क मिल्ने भए पनि हामीले आफै खाना पकाएर खायौँ । भोलिपल्ट कार्तिक ११ गते बिहान ६ बजे नै एउटा मोटर रिजर्भ गरेर करिब ५० किलोमिटर उत्तर पहाडमा रहेको तिरूपति बालाजीको दर्शन गर्न हिँड्यौँ । तिरूमाला भन्ने ठाउँमा तिरूपति बालाजीको मन्दिर रहेछ । सहर छाडेपछि सफासुग्घर जङ्गल भएर राम्रो बाटो जाँदो रहेछ । करिब तीन घण्टाको पहाडी यात्रापश्चात्तिरूपति बालाजी मन्दिर पुग्यौँ । मन्दिरमा कपाल चढाउने चलन रहेछ । मुडुलो टाउको लिएका महिला एवं पुरुष प्रशस्त देखिन्थे । अफ सिजन भएकोले भिड कम छ भन्थे तर पनि लगातार पाँच घण्टासम्म लाइनमा बसेर बालाजीको दर्शन गर्न पाइयो । क्युमा बस्ता पिउने पानी, चियानास्ताको निःशुल्क व्यवस्था हुने र ठाउँठाउँमा ट्वाइलेट भएकाले गाह्रो नपर्ने रहेछ । मन्दिर निकै भव्य रहेछ । दैनिक भेटी न्यूनतम पाँच करोड उठ्छ भन्ने सुनिन्थ्यो । मन्दिरको एक छेउमा सयौँ मान्छे पैसा गन्न व्यस्त भएको सिसाबाट प्रस्टदेखिन्थ्यो । दुईचार ट्रक पैसाका बिटाहरु यताउति रहेको देख्दा त्यहाँको आम्दानी दैनिक करौडौँ हुने कुरा अपत्यारिलो लागेन । मन्दिर दर्शनपछि निःशुल्क भोजनको व्यवस्था रहेछ । कम्तीमा एक लाख जनाले दैनिक भोजन गर्छन् भन्थे । हामीले पनि लाइन लागेर निःशुल्क भोजन गर्यौं । मन्दिर परिसरको भव्यताका बारेमा लेखेर साध्य नहुने रहेछ । तीनचार घण्टासम्म घुमघाम गरेर बस चढेर हामी पुनः तिरूपति झर्यौं ।
कार्तिक १२ गते तिरूपति बजार घुमेर बितायौँ । १३ गते बिहान ९ः५५ को लोकल ट्रेनबाट चेन्नाई हिँडेर १ः३० मा चेन्नाई सेन्ट्रल रेलवे स्टेसन पुग्यौँ । सोही दिन बेलुका ११ः५५को चेन्नाई हावडा एक्सप्रेसको टिकट भएकोले वेटिङ रूममा गएर बस्यौँ । हामी तीनचार जनाचैँ एउटा टेम्पु रिजर्भ गरेर चेन्नाई बिच हेर्न गयौँ । एकडेढ घण्टासम्म समुद्रको छालसँग रमाएपछि स्टेसन फर्कियौँ । बेलुका ११ः५५ मा हावडा जान रेल चढ्यौँ । हामी बाह्र जनाको टोली चार डिब्बामा छरिएकोले कलकत्ता नपुगी भेट हुने सम्भावना रहेन । रेलमा यति धेरै भिड थियो कि स्लिपर रिजर्भेसनले पनि केहीकाम गरेन । जबर्जस्ती मान्छे बसिदिन्थे । भोलिपल्ट १४ गते बिहान सात बजे आन्ध्र प्रदेशको विजयवाडा पुग्यौँ भने दिउँसो १ बजे विशाखापटनम पुग्यौँ । राति ८ः०० बजे ओडिसा राज्यको भुवनेश्वरबाट हिँडेर कार्तिक १५ गते बिहान ४ः१५ मा कलकत्ताको हावडा स्टेसनपुग्यौँ । चेन्नाई–हावडाको १,६६२ कि.मि. लामो रेलयात्राको दुरी २८ घण्टामा पूरा गर्यौं । हावडा स्टेसनमा मानिसको भिडदेख्दा मन कहालिने रहेछ । हामी एकअर्कोबाट छुट्छौँ कि भन्ने निकै डर भयो । भिडबाट निकै कठिनसँग निस्किएर हावडा पुलनजिक लाग्ने लोकल बसमा चढेर कलकत्ताको सियालदह रेलवे स्टेसन गयौँ । कलकत्ता सहर खास घुम्न पाइएन । रेल्वे स्टेसनको आसपास मात्र घुमियो । दिउँसो १ बजे झारखण्डको बाबाधाम जान सियालदह–जसिडिहका लागि रेल चढ्यौँ । बेलुका ८ः०० बजे जसिडिह पुगी एउटा मोटर रिजर्भ गरेर बाबाधाम पुग्यौँ । शिवजीका बाह्र ज्योतिर्लिङ्गमध्ये बाबा वैद्यनाथ धाम पनि एक भएकोले तीन दिनसम्म बसेर बाबाधाम, बासुकी धाम आदिको दर्शन ग¥यौँ । अफ सिजन परेछ दर्शन गर्ने मानिसको सङ्ख्याभन्दा पण्डाको सङ्ख्या बढीदेखिन्थ्यो । बाबाधाम मन्दिरमा ३५ सय पण्डा छन् भन्थे । पण्डाले घेरेर दिक्क लाउने रहेछन् । कार्तिक १८ गते बिहान ४ बजे जसिडिहबाट कटिहारका लागि रेल चढ्यौँ । कटिहारबाट बेलुका ६ बजे जोगबनीका लागि रेलचढेर १२ बजे जोगबनी आइपुग्यौँ । पोकापन्तरा झुन्ड्याउँदै नेपाल छिरेर एउटा मोटर रिजर्भ गरी २०७० कार्तिक १९ गते भाइटीकाको रात्रि १ बजेतिर २७ दिनको यात्रापछि विराटनगरस्थित बासस्थान आइपुग्यौँ ।
क्षेत्रफल तथा जनसङ्ख्याको हिसाबले नेपालभन्दा विशाल आकारको भारतको क्षेत्रफल ३१,६६,२८५ वर्गकिलोमिटर छ । जहाँ १ अरब ३० करोडभन्दा बढी जनसङ्ख्या अँटाएर बसेका छन् । भारतको राजधानी दिल्ली। २९ राज्य एवम् ७ओटा केन्द्र शासित प्रदेश छन् । तीमध्ये विहार, उत्तरप्रदेश, मध्यप्रदेश, महाराष्ट्र, कर्णाटका, केरला, तामिलनाडु, आन्ध्रप्रदेश, ओडिसा, पश्चिम बङ्गाल एवम् झारखण्ड राज्यका भूमिलाई यात्राका क्रममा छुने मौका पायौँ ।इति ।