रामदयाल राकेश

यसपछि प्रसिद्ध आङ्ग्ल कवि विलियम वर्डस्वर्थको कविता rainbow को स्मरण हुन्छ जसका केही काव्यपङ्क्तिहरु उद्धृत गर्न चाहन्छु,
My heart traps up when I behold a rainbow in the city
– – –
Child is the father of man.
दुनियाँको हरेक साहित्यमा बचपनका बारेमा कविता अवश्य लेखिएका होलान् तर अङ्ग्रेजी भाषामा लिखित यी कविताहरु स्मरणीय हुन गएका छन् ।
कोरोनाको कहर जारी छ । यसबाट संक्रमित रोगीहरुको स्थिति दयनीय र सोचनीय हुँदै छ । सामाजिक सञ्जालमा धेरै उपयोगी सूचनाहरु सम्प्रेषित हुन थालेका छन् तर सबैको निष्कर्ष स्वास्थ्य मापदण्ड अपनाउनु अत्यावश्यक भएको छ आफ्नो तथा अरुको सुरक्षाका लागि ।
कोरोना कहरको असर कम गर्नका लागि नै प्रशान्तहरु आएका हुन् जस्तो भएको छ । कमसेकम यिनीहरुसँग समय बिताउन सजिलो भएको छ । पोहोर सालको लकडाउनमा नै छोरा प्रशान्त न्युयोर्कका लागि प्रस्थान गरेको थियो । यहाँ कोरोनाको कहर कम थियो तर न्युयोर्कमा धेरै थियो । काठमाडौँबाट हिँडेपछि उसले जर्मनीको म्युनिखमा नातिनी प्रीतिको पाहुना भएर बस्नुपरेको थियो । किनभने टर्किस एयरलाइन्सको सेवा नियमित थिएन । पन्ध्र दिनसम्म त्यहाँ बास बसेपछि र त्यो पनि आइसोलेसनमा; कति अप्ठ्यारो भएको थियो होला, बल्ल बल्ल ऊ त्यहाँबाट न्युयोर्क उडेको थियो । न्युयोर्कमा कोरोनाले उत्पात मच्चाइराखेको थियो । म दिनहुँ सिएनएनको समाचारमा त्यहाँका मेयरको बयान सुनिराखेको थिएँ । मन धेरै चिन्तित थियो तर गर्ने के ? भगवान्को स्मरण गर्दै समय काटिरहेको थिएँ । फोनमा प्रशान्तसँग कुराकानी हुन्थ्यो अनि आशवस्त हुन्थेँ तर यसपल्ट काठमाडौँमा कोरोनाको कहर उत्कर्षमा पुगेको छ । यसैबिच ऊ यहाँ आइपुगेको एक हप्तापछि लकडाउन सुरू भइहाल्यो । ऊ जेठ महिनादेखि यहाँ बसिराखेको छ र कहिले उसको उडान हुने हो, निश्चित छैन । ऊ निश्चिन्त छ किनभने उसले दुईओटै डोज खोप न्युयोर्कमा लिइसकेको छ तर पनि म उसलाई सचेत गराउँछु कि यहाँको भेरिएन्ट नयाँ छ । यहाँ तीन प्रकारको भेरिएन्ट जीवित छ र यसको भर छैन ।
यस्तो कोरोनाको प्रकोपमा एक दिन कथाकार विनोद दीक्षितले पैँतालिस मिनेटसम्म कुरा गर्न भ्याउनुभयो । मलाई धेरै राम्रो लाग्यो । करिब दुई वर्षसम्म उहाँसँग कुराकानी भएको थिएन । उहाँको जिज्ञासा थियो, माधवी उपन्यासको पाण्डुलिपिलाई कसरी टाइप गराउने र त्यसपछि कसरी प्रकाशित गर्ने । माधवी उपन्यासको हिन्दी अनुवादको पाण्डुलिपि उहाँले बनारसबाट लिएर आउनुभएको छ । मसँग यसका बारेमा धेरै लामो कुराकानी गर्न भ्याउनुभयो । वरिष्ठ उपन्यासकार स्व. मदनमणि दीक्षितबाट लिखित उपन्यास माधवीको अनुवाद विदुषी किरण मिश्रले गर्नुभएको छ ।
अमेरिकी स्रष्टा समाजका संयोजक प्रभात दीक्षितले पनि एकपल्ट फोन गरेर के हालचाल छ भनेर सोध्नुभयो । शुभचिन्तक साथीहरुले फोनमा कुरा गर्दा पनि धेरै सन्तोष लाग्छ र खुसी पनि । त्यस्तो व्यस्त जीवन बिताउने साथीहरुसँग समयको अभाव हुँदैन तर यहीँ बस्ने साथीहरुको फोनचाहिँ धेरै कम आउने गर्छ । प्रत्यक्ष भेटघाट नभए पनि मोबाइलको स्क्रिनमा साथीभाइहरुको तस्बिर हेर्नका लागि मन कहिलेकाहीँ लालायित भइरहन्छ । मेसेन्जरमा कुरा गर्दा त एक किसिमबाट धेरै मेसेज सम्प्रेषित हुने गर्छ । मेसेन्जरमा नै जनकपुर धाम निवासी साहित्यकार र पत्रकार रामभरोस कापडीसँग कुराकानी हुन्छ । मन धेरै हलुङ्गो हुन्छ । जनकपुर धाम अर्थात् प्रदेश नं. २ को राजधानीको राजनीतिक गतिविधि, साहित्यिक र सांस्कृतिक गतिविधिको सङ्क्षेपमा भए पनि जानकारी प्राप्त हुन्छ । समाचार सम्प्रेषण त पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट हुन्छ नै ।
त्यस्तै कहिलेकाहीँ साहित्यकार अयोध्यानाथ चौधरीसँग पनि मेसेन्जरमा कुराकानी हुँदा मनोरञ्जन प्राप्त हुन्छ । उहाँ पनि मजस्तै प्राविधिक कुरामा अगाडि हुनुहुन्छ । ल्यापटप र मोबाइल चलाउनमा म पनि पोख्त नभएको र उहाँको स्थिति पनि यस्तै भएकोले हामी दुई जनामा मनोरञ्जनात्मक कुराकानी हुने गर्छ । हामी दुवै जना हाँस्दाहाँस्दै कुरो टुङ्गिन्छ । भनिन्छ नि, अल्प ज्ञान भयङ्कर । यो एकदम सही कुरो हो । यस्तो प्राविधिक युगमा पनि हामी प्राविधिक ज्ञानमा पोख्त नहुँदा धेरै पश्चात्ताप गर्नुपर्छ । कतिपय काम बिग्रिहाल्छ । किनभने त्यसको समयसीमा निर्धारित हुन्छ । प्रत्यक्ष भेटघाट सम्भव नै छैन र मोबाइलबाट मात्र काठमाडौँमा बस्ने साथीहरुसँग सबै कुरोको छिनोफानो सम्भव हुँदैन । कुनै पनि प्राविधिक ज्ञानको अभावमा कस्तो समस्याको सामना गर्नुपर्छ त्यसको प्रत्यक्ष अनुभव हुन्छ । समयमा ध्यान दिइएन कि यस्तो स्थितिपरिस्थितिको सामना गर्नुपर्छ । कुनै साइबरमा गएर सिक्न सजिलो हुन्थ्यो तर त्यो पनि अचेलको स्थितिमा सम्भव छैन ।
कोरोनाको दोस्रो लहरले गर्दा साइबरमा जानु र नयाँ आलेख टङ्कण गराएर कुनै पत्रपत्रिकामा पठाउन पनि सम्भव छैन । देवनागरी लिपि टाइप गर्न मलाई आउँदै आउँदैन । यसका लागि मैले साइबरमै जानुपर्छ जुन सम्भव भइराखेको छैन । मैले पत्रपत्रिका लिने साहु राजु पाठकले नै मेरो सबै लेखरचना टाइप गरेर विगत पाँच वर्षदेखि सघाइराख्नुभएको छ । उहाँले टाइप गरेर मैले दिएको इमेलमा पठाइदिएर सहयोग गर्नुहुन्छ । कुनै लेखरचना प्रकाशित हुन्छ र कुनै हुँदैन । प्रकाशित भएको खण्डमा पत्रिका लिन जान पनि डर लाग्छ । किनभने घरबाट निस्किनु नै खतरा छ भने पत्रपत्रिकाबाट पनि संक्रमणको सम्भावना हुन्छ भनेर त्यो पत्रिका हेर्ने रहर भए पनि सम्भव हुँदैन । आफ्नो लेखरचना पत्रपत्रिकामा पढ्दा बेग्लै किसिमको आनन्द आउँछ तर त्यसबाट पनि वञ्चित हुने स्थिति छ । पैसाको लेनदेनमा पनि सङ्व्रmमणको समस्या देखा पर्छ । सबै ठाउँमा पैसालाई स्यानिटाइज गर्न सम्भव पनि हुँदैन । यस्तै यस्तै समस्या कोरोनाले उत्पन्न गरेर मानिसलाई हायलकायल बनाइदिएको छ ।
यस्तै एउटा समस्या आइलाग्यो । अन्नपूर्ण पोस्ट दैनिकमा मेरो उपन्यास कोरोनाको रचनागर्भ प्रकाशित भएको रहेछ । मैले धेरै चाहे पनि हार्डकपी उपलब्ध हुन सकेन । म मन मारेर बसेको थिएँ । यतिकैमा मोबाइलको मेसेन्जरमा खोज्न थालेँ कुनै अपेक्षित मानिससँग कुराकानी हुन्छ कि भनेर यतिकैमा मुकुल टाइम्स मासिक पत्रिकाका सम्पादक सञ्जीवसिंहसँग सम्पर्क भयो । उहाँ त्यस दिन वीरगन्जमा हुनुहुन्थ्यो र संयोगवश मेरो आलेख पढ्नुभएको रहेछ । उहाँले बेलिबिस्तारमा कुराकानी गर्न थाल्नुभयो र त्यसको प्रशंसा पनि गर्नुभयो । क्रमश:

 

Facebook Comments Box

Similar Posts