राजेन्द्र भण्डारी
(कालेबुङ, भारत)
दिनभरि गिट्टी, बालुवा, ढुङ्गा बोकेर
लखतरान
एउटा ट्रक
बास बस्छ सडकछेउ एकान्तमा रातभर ।
साथीले गुडिया खोसेपछि
एउटा बालक खोज्छ
एकान्त आफ्नी आमालाई
पोल हाल्न ।
म पनि खोज्छु एकान्त
आफ्नो छातीका आला चोट देखाउन
अनि धित मरून्जेल रून ।
जब म साँघुरा गल्लीहरुमा
अदृश्य डोरीले
टन्टनी बेरेर
भड्खालोमा फ्याँकिन्छु,
जब आँखामा कालो पट्टी बाँधेकी
न्यायकी देवीले समेत
कोल्टे तराजु उचाल्छिन्,
म एकान्तलाई च्याप्प समाउँछु र सोध्छु
अघिल्लो पाइला कहाँ टेक्नु ?
बाहिरफेर जतिसुकै सिनिक्क परेर हिँडे पनि
भित्रबाट मलाई
नाङ्गैभुतुङ्गै देख्ने उही एकान्त नै हुन्छ ।
जब मलाई सबैथोक कोक्याउन थाल्छ
म मान्छे बान्ता गर्छु ।
सिद्धान्तहरु च्यात्छु ।
विचार बान्ता गर्छु ।
जब म
जताततै
पिप र रगतका खोला उर्लिएको देख्छु,
रगत बान्ता गर्छु ।
त्यस बेला
एकान्तले नै मलाई पानी पिलाउँछ
गाम्छाले मुख पुछिदिन्छ ।
उसको काख नै मलाई लाख हुन्छ ।
म भन्छु
ए एकान्त !
तँ एक्लो छैनस्, म छु नि तेरो लागि ।
ऊ पनि भन्छ
तँ पनि एक्लो छैनस्,
म छु नि तेरो लागि ।


