नन्दलाल आचार्य
तपाईं कवि नै हो–
र कविताकै गन्धले रूमलिएको मान्छे पनि ।
कविजी,
आफूले भनेर मात्रै कवि भइँदैन,
भोकले देखेका सपना लेखेर
कागजसँग आँखा नजोड्ने
तर आँसु साट्न सक्ने
जुन चेतनाको मान्छे हुनुहुन्छ,
त्यो मैले देखेको छु–
कैयौँ रात सपनाहरु भिजेको देखेको छु ।
कविमा
रगत बग्छ,
शब्दहरुको रगतमै
विद्रोहका सङ्केतहरु लेखिन्छन्,
अनि ती सङ्केतहरुमा
तपाईंले
सत्यको आगो बाल्नुभयो,
त्यही आगोले
भुइँ उघार्दै
चुपचाप सत्तालाई छुन्थ्यो
र सत्ताले तपाईंबाट बच्न
कविताबाट डराउन सिकेको थियो ।
तपाईं कवि नै हो,
किनभने
तपाईं सधैँ आँसुका अक्षरमा नुहाउनुहुन्छ,
बुढी आमाको काँधमा झोला राखेर
घाममा उभिएको छोराको शिर
अझ उँचो देख्ने कविता
रच्न खोज्नुहुन्छ,
बोल्न नसक्नेहरुको
वाणी बन्ने कविता
रच्नुहुन्छ ।
तपाईं कवि नै हो,
किनभने
कहिलेकाहीँ तपाईं
आफ्नै छायामा थकित भएर ढल्नुहुन्छ,
तर
घामजस्तै उठ्नुहुन्छ,
आफ्नै टुक्रिएको समयलाई
कविताको स्वर दिँदै,
जसले
रगत सुक्न नपाउँदै
संवेदनालाई हतियार बनाउँछ
र त्यही हतियार
कठिनाइलाई चिर्ने खुकुरी बन्छ ।
तपाईं
भन्दै हिँड्नुहुन्छ–
‘म कवि होइन’,
तर शब्दको चिहानमाथि
नयाँ जीवनको बिउ रोप्ने
शक्ति तपाईंमै छ ।
त्यसैले तपाईं कवि हो–
किनभने
तपाईंको कविता
कविता मात्र रहँदैन
मान्छेको पुनर्जन्म बन्छ
अन्धकारमा दियो बन्छ
र
निरूत्तर समयको
एक मात्र उत्तर बन्छ ।


