ध्रुव मधिकर्मी
चारैतिर छ एकतमासको अँध्यारो
धुलो, धुवाँ र बगरको ओइरोमा
अग्ला अग्ला भवनबाट छेकिएर
लुक्दै भाग्दै गरेको निरीह घामलाई हेर्दै
निन्याउरा अनुहारहरु
तह लगाउँदै छन् जिन्दगीलाई
म उज्यालो यात्राको खोजमा छु ।
धमिलो रङ पोतिएको आकाशमुनि
निन्याउरा अनुहारहरुको गतिहीन ओहोरदोहोर
किन हो उडेका देखिन्नन् चराहरु पनि
बग्न छाडेका छन् नदीहरु पनि
बन्द सहरको उपेक्षित गल्लीझैँ
आफैमा हराउन बाध्य यथास्थितिलाई नाघेर
म फराकिलो बाटोको खोजमा छु ।
बिच सडकमा टायर बालेर
मानौँ रोक्न खोज्दै छन् समयका पाइलाहरु
मग्न भएर आगो ताप्दै
नेपथ्यबाट परिचालित
अस्तित्वहीन आकारहरुको एउटा समूह
डोजर, क्रसर र बन्चरोको जुलुस उचालेर
विकासको नयाँ खाकामा रमाउँदै छ ।
सुदूरमा छुटेको सपना
र भिडको कोलाहललाई पन्छाउँदै
फूलहरुको कोमल स्पर्श र पातहरुको लयमा
म चेतनाको नयाँ सँघारमा छु ।


