• सुमन थापा ‘सङ्गम’

२०८१ पुस तेह्र गते शनिबार साहित्यकार महेन्द्र चालिसेको नियात्रा कृति लेकबेँसीका सुगन्धको लोकार्पण निम्ति हामी यात्रामा निस्कियौँ । काभ्रेको मन्डन देउपुरस्थित इन्द्रावतीको काखमा पुग्न पुसको जाडो तर यात्राको तातोले मन फुरूङ्ग भइरहेथ्यो ।

पुसको कठ्याङ्ग्रिँदो चिसोमा बिहान सात बजिसक्दा पनि घाम देखिएको थिएन । म त्यो झिसमिसेमा समयमै पुग्न घरबाट छिटै निस्किएँ । सात बजे समय तोकिएकोले समयमै पुगेँ तर मभन्दा पहिलै नै लगभग सबै जना जम्मा भएर बसभित्र बसिसकेका रहेछन् । एकदुई जना अरु साहित्यकार र पत्रकार भाइ डिल्लीरमण सुवेदी नआइपुगेकाले यात्राको समय तोकिएकोभन्दा लगभग ३० मिनेट जति रोकियो । तीनओटा बस र कारमा गरी लगभग एकसय जना जति साहित्यकारलाई लिएर हाम्रो यात्रा इन्द्रावती मन्डनदेउपुरस्थित माझीगाउँ जोगीटारका निम्ति सुरू भयो । विख्यात आख्यानशिल्पी रमेश विकलको बहुचर्चित कृति अविरल बग्दछ इन्द्रावतीको सिर्जनास्थल माझीगाउँमा विकलपुत्र महेन्द्र चालिसेको कृति सार्वजनिक गर्ने निधोअनुसार हामी लेखक साहित्यकार बसभित्र थियौँ । बसभित्र पस्नासाथ एउटा परिवारँंग भेटिएजस्तो आफ्नोपनको न्यानोले मन आह्लादित बन्यो । यात्रा सुरू भयो ।

‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ’ गीत बजिरहेथ्यो । हाम्रो यात्रा आफ्नै गतिमा दौडिरहेथ्यो । म यही धुनभित्र हराउन थालेँ । मलाई यस्ता आधुनिक गीतहरु औधी मन पर्छन् । मन पर्छ प्रकृतिको सङ्गीत, प्रकृतिको लय र प्रकृतिको धुन । म आफै आफूलाई हराएको थाहा पाउँदिनँ । यसरी थाहा नपाउनु पनि आनन्द हुँदो रहेछ कहिलेकाहीँ ।

यात्रा गर्दा म प्रायः कसरी कसरी बस बाहिरबाट देखिने प्रकृतिको स्वरुप नियाल्न पुग्छु । त्यस बेला प्रकृतिलाई कतै चराको गीतमा नाचिरहेझैँ चराको आवाज नै गीत बजेझैँ र रूखका पात या खेतमा देखिने खेती हावाको स्पर्शमा झुल्दा नाचिरहेझैँ देख्छु । बिहानीको बालख घाम मसँगसँगै दौडिरहेझैँ लाग्छ र म अझै वेगमा कुदूँ र घामलाई मेरो पछि पछि लगाइरहूँजस्तो मन पुलकित बनेर प्रकृतिसँग खेलिरहन्छ । म मुग्ध बनिरहन्छु यात्राभर ।

काभ्रेको मन्डन देउपुर सर्जक चालिसेको मावलीगाउँ रहेछ । एउटा भिन्दै आत्मीयता जोडिएको हुन्छ मावली गाउँसँग । त्यहाँसम्म पुग्न साँखुबाट लगभग ६० कि.मि. दुरी रहेछ । साँखुतिरको बाटोबाट पालुवारी, कात्तिके, नगरकोट, ढाइटार, देउपुर, कुन्ताबेँसी, हिँगुवापाटी, डेढीथुम्का उच्च मा.वि., रायोबारी, कान्तिटार, हुँदै ११ बजे जोगीटार माझीगाउँ, इन्द्रावती पुग्यौँ । उत्तरमा हिमाल हाँसेर हाम्रो स्वागत गरिरहेथ्यो । बाटामा अनेक दृश्यसँग साक्षात्कार हुँदै अगाडि बढ्यौँ । बसबाट ओर्लियौँ । शिरमा हिमाल देखिने गरी केही तस्बिर लियौँ र गन्तव्यतर्फ अघि बढ्यौँ ।

पुसको चिसोमा पहाडबाट झरेको झरना र नजिकै मूलको पानीमा महिला दिदीबहिनी बिहानै नुहाउँदै गरेको दृश्यले साँच्चै गाँउघरमा एउटा इतिहास अझै जोगिएकै छ भनेझैँ लाग्यो । त्यसै गरी बिहानै सेतो क्यान्टिनमा दुध लिएर हिँडेको दृश्य पनि हामी गाउँका चोखा अग्र्यानिक खान नपाउनेलाई लोभलाग्दो नै देखियो । यस्ता कुराले कहिलेकाहीँ गाउँघर टेक्नेलाई अति रमाइलो हुन्छ । त्यस्तै रमाइलो दृश्यमा म भुल्दै यात्रामा हराइरहेँ ।

बसभित्र कविलेखकहरु आआफ्ना गफमा मस्त थिए । बसभित्र जस्तो गीत बज्छ उस्तै गीतसङ्गीतका विषयमा चर्चा भइरहेथ्यो । गीतको छनोट निरुपा प्रसुनले गरेकी थिइन् । प्रायः नारायणगोपाल र तारादेवीका गीतहरु बज्दै थिए । अरु साहित्यकारले बेला बेला निरुपालाई जवान मान्छेले पुराना गीत बजाएको सुहाएन भन्दै जिस्काउँदै थिए तर अत्यन्त मधुर गीतले सबै खुसी पनि थिए ।

हामी मन्डनदेउपुरस्थित माझीगाउँ जोगीटार पुगेपछि केही समय यताउताको दृश्य हेरेर घुम्ने र खाना खाएपछि कर्यक्रम सञ्चालन हुने जानकारी गराइयो । सोहीअनुसार हामी इन्द्रावती हेर्न ओरालो लाग्यौँ ।

नदी आइपुग्नुअघि माझीगाउँस्थित ठुलो चौतारीमुनि आधा घण्टा जतिमा घुम्ती कविगोष्ठी सम्पन्न भयो । त्यो सकेर कोही साथी नदीतर्फ लागे कोही तस्बिर लिन लागे । म भने इन्द्रावती पुग्न सकिनँ । इन्द्रावती जाऊँ भने प्रदीप भाइ अगाडि नै गइहालेछन् । त्यहाँ रहेका अरु साथी नजाने पक्षमा देखिए । म पनि इन्द्रावती पुग्न नपाई प्रदीप भाइसँग मनमनै रिसाउँदै ‘धोखा दिनेलाई के भनूँ र खै’ भन्ने गीत सम्झँदै ती साथीहरुसँगै लुरूलुरू फर्किएँ ।

फर्कंदा खाना तयार भइसकेको रहेछ । भोक मिठो कि भोजन भनेजस्तो गाउँको अग्र्यानिक खाना दाल, भात, साग, काउली, अचार निक्कै स्वादिलो लाग्यो । खाइवरी कार्यक्रम हलमा पुग्यौँ । ‘अर्जुन–राधा फाउन्डेसन’को आयोजनामा संरक्षक अर्जुन नेपालको सभापतित्व, वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा राजधानीबाट गएका साहित्यकार र स्थानीयवासीको बाक्लो उपस्थितिमा आयोजित कृति विमोचनले माहोल रमणीय बन्यो ।

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले मन्तव्यका क्रममा भाइ महेन्द्रको साहित्यिक लेखन कथाबाट सुरू भए पनि पछिल्लो समय नियात्रातिर केन्द्रित भएको र नियात्रामा पनि धार्मिक क्षेत्रमा केन्द्रित रहेकोमा खुसी व्यक्त गर्दै वेदपुराणको रचनाभूमि, ज्ञान प्रचारको क्षेत्र भए पनि नेपालका धार्मिक क्षेत्रहरु ओझेलमा परिरहेका बेला प्रस्तुत कृतिले यसको महङ्खव दर्साउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आफ्नो चार पुस्ता नै लेखनमा लागेकोले अति खुसी महसुस भएको कुरा समेत हामीलाई सुनाए । साँच्चै नै चार पुस्तासम्म साहित्यमा लाग्नु चानचुने कुरा होइन ।

कार्यक्रमका प्रमुख अतिथि विकलका साथी रोचक घिमिरेले ‘रमेश विकलले अविरल बग्दछ इन्द्रावती रचना गरेका र उनकै कान्छा छोराको कृति आफूले विमोचन गर्न पाउँदा चालिस वर्षअघि विकलसँग सो स्थानमा बिताएको समय सम्झिए । पहिले आफू बेला बेला त्यहाँ घुम्न आउँदा बस्नेखाने ठाउँको चर्चा गर्दा उपस्थित सबै विगतमा पुगेर ती घटनासँग साक्षात्कार हुन खोजिरहेझैँ लाग्यो । यसरी साहित्यिक कार्यक्रमको बहानामा घुम्न पाउनु पनि रोचक बनिरहेथ्यो ।

जीवन सङ्घर्ष हो । सङ्घर्षको पाटो आफ्ना ठाउँमा छँदै छ । सङ्घर्षबाट समय चोरेर निस्कनु र सङ्घर्षलाई बिर्सिएर साथीभाइमाझ रमाउन पाउनु एउटा उत्सव नै हो । कार्यक्रम सकेर चियापानपश्चात् हामी सोही बाटो फर्कियौँ । बेलुकी छ बजे चावहिल आइपुग्यौँ ।

इन्द्रावती नपुग्नुभएका र यात्रा गर्न चाहनेले सार्वजनिक बसबाट पनि यात्रा गर्न सक्नुहुन्छ । काठमाडौँबाट मेलम्ची जाने बसमा बनेपा, धुलिखेल, पाँचखाल, जिरो किलो, कुन्ताबेँसी हुदै हिँगुवापाटीसम्म जाने र त्यहाबाट पैदल यात्रा गर्न सकिन्छ । अन्यथा काठमाडौँबाट बनेपा गएर जोगीटार हुँदै पनि जान सकिन्छ । अफिस समयमा बस बिहान र बेलुका हिँड्छ भन्ने सुनियो । आफ्नै साधनमा बनेपा–धुलिखेल हुँदै जाँदा करिब अढाईतीन घण्टा लाग्ने र साँखु–नगरकोट भएर जाँदा दुई घन्टामा पुगिने सुनियो । यात्राका धेरै विकल्प हुन्छन् । हामी रिजर्भ बसबाट गएकाले माथि उल्लेख गरेका स्थान हुँदै पुग्यौँ । यसरी यो सुन्दर समय प्रदान गरेर कृति विमोचनमा सहभागी हुने मौका जुराइदिनुहुने प्रिय मित्र प्रतीक घिमिरेप्रति कृतज्ञ छु ।

Facebook Comments Box

Similar Posts