देवकी के.सी.

सरलाले जीवनको पन्ध्रौँ वसन्त पार गरेर सोह्रौँमा पाइला टेकेकी मात्रै थिई । आमा अकालमै मरेपछि बाउले सौतेनी आमा ल्याए । त्यसपछि भने सरलाका दुःखका दिन सुरू भए । कक्षा आठमा फेल भएपछि घरबाट उसको स्कुल जाने ढोका नै बन्द गरियो । घरमा चुलाचौका सम्हाल्नु, दुई सौतेलो भाइको रेखदेख गर्नु, घाँस, दाउरा, पानी, पँधेरोमै सरलाका दिन बित्न थाले ।

सानैदेखि मोटी खाइलाग्दी जिउडालकी थिई । उसको त्यही ज्यान देखेर सौतेनी आमालाई औडाहा हुन्थ्यो । किशोरावस्था र बैँसको गतिले पाइला लम्काउँदै गर्दा सरलाको शरीर झनै आकर्षक हुन थाल्यो । उसका छाती सामान्य किशोरीका भन्दा निकै ठुला थिए । हुन त उसको जिउडाल पनि निकै मोटो थियो ।

‘हेर! यो घरमा खाइमातो लागेर यसका जिउडाल बङ्गुरका जस्ता भा’का । छाती पनि के बिघ्न फुलेका अहिल्यै ? ब्याउने आइमाइका झैँ । कामको भने ढङ्ग छैन । आँखामा छारो हाल्नेबाहेक जान्या हैन !’ यसरी नै सरलालाई गाली गर्ने त सौतेनी आमाको दैनिकी नै बनेको थियो ।

‘एउटा ठिटो आए त अहिले नै टाँसो लाएर पठाउँथेँ । यो आमा टोक्वाइलाई घरमा कति पाल्नु?’ सौतेनी आमाका यस्ता तिता वचनले वाक्क भएकी सरला मनमनै भन्थी, ‘किन सौतेनी आमाले मलाई यति गाली गरेकी होली? बरू जड्याहा भए पनि बाउले यतिबिघ्न गाली गरेका छैनन् । के म तरूनी हुनु, मोटी हुनु, मेरा छाती फुलेर बेलुनजस्तो हुनु मेरो गल्ती हो र ? मेरो उमेरमा त सौतेनी आमा पनि मजस्तै तरूनी हुनुहुन्थ्यो होला नि ! किन त्योचाहिँ बिर्सिनुभएको उहाँले ? किन सौतेनी आमा मेरो बिहे गर्न यति साह्रो हतारिएकी ? आखिर म भर्खरै सोह्र लागेकी त हो नि ? के म परिवारका लागि बोझ भएकै हो र?’ उसका मनभित्र गुुम्सिएका यस्ता अनगिन्ती प्रश्नको जबाफ भने सरला आफैसित थिएन ।

जड्याहा बाउलाई घरको मतलब थिएन । सौतेला भाइहरु सानै थिए । सौतेनी आमाको टोकसोबारे सरलाले कोसित दुखेसो पोख्नुु ? जड्याहा बाउलाई नाना भाँती कुरा लगाएर उक्साउँदै सौतेनी आमाले आफ्नो बिहे गरिदिन राजी बनाएको सरलाले चाल पाई । जसोतसो पच्चिस नाघेको र पहिलो घरबार बिगे्रको केटो रमेशसित सरलालाई चारगेडा अक्षता निधारमा टाँसेर टाँसो लगाई पठाइदिए जड्याहा बाउ र सौतेनी आमाले ।

हेर्दै रमेशमा खोई के नमिले नमिलेझैँ लाग्थ्यो सरलालाई तैपनि घरमा सौतेनी आमाको कुरो काट्न सक्ने क्षमता कसको पो थियो र ? रमेशभन्दा त हाम्रै गाउँको भक्ते सिर्कमीको छोरो माने कति ह्यान्डसम कति । चट्ट मिलेको जिउडाल अहा ! मोरा मलाई पँधेरामा खुुब कर्के नजर लगाएर हेथ्र्यो । तर के गर्नु ! भाग्यमा त औतार नै नपरेझैँ रुपरङ नमिलेको रमेश लेख्या रै’छ । यस्ताका बारेमा सोच्नु पनि व्यर्थ रै’छ मेरा लागि अब । यसो भनेर सरलाले आफ्नो मनलाई बुुझाई ।

बिहेको दिन रमेश जब सरलाको नजिक कोठामा सँगै बस्यो तब सरला तर्सिई । रमेशको स्पर्शले सरलामा कता कता डर पैदा भयो तर डराएर पनि के काम र ? आखिर परिवारले नै रमेशसित टाँसो लगाएर पठाएपछि । त्यस रात नै रमेशले बिस्तारै सरलाको नजिक आएर सोध्यो, ‘सरला तिम्रा छाती किन यति बिघ्न ठुला ? मेरी पहिलेको स्वास्नी कोपिलाका त यति बिघ्न ठुला छाती थिएनन् । पछि मैले आफ्नै हातले मुर्सार्थें अनि अलि ठुला भए । के गर्नु मोरी म विदेश भएको बेला पल्लो गाँउको जगतेसित पोइला गइछ । मोरी क्या मज्जाकी थिई । जिउ त मज्जाले मुर्सान दिन्थी । तर सरला त्यति ठुला छाती हेर्दै झोलिएको देखिन्छ । झोलुुङ्गे पुलजस्तो लर्थक्क हल्लिन्छ क्या । राम्रो देखिन्न । कि तिम्रा छातीमा पहिले नै कसैले हात लगाइसकेका थिए र यति ठुला भएका ?’

सरला मौन थिई । रमेशका प्रत्येक शब्दले उसमा लाज, घृणा र रिस उब्जेको थियो । कोपिला उसकी पहिलेकी स्वास्नीको नाउँ रै’छ । ऊ विदेश भएका बेला पोइला गएकी रै’छ । यो कुरो सरलाले पहिलोपटक रमेशकै मुखबाट सुनी । आफ्नो छातीका बारेमा कुरा गरेको सुनेर सरलालाई निकै लाज लागेको थियो । आफ्नो ठुलो छाती देखेर रमेशले पहिलोपल्ट नै आफूमाथि शङ्का ग¥यो । आफूलाई चरित्रहीनको रुपमा चित्रण गर्न खोज्यो । सरलालाई उसप्रति औधी घृणा र रिस जाग्यो । आफ्नो चरित्रमाथि शङ्का गर्ने जिब्रो नै फाँलिदिऊँ जस्तो रिस उठ्यो सरलालाई । सरलाले मनमनै भनेकी थिई, ‘मेरो चरित्रमाथि शङ्का गर्ने ! तँ यत्रो समय विदेश रहँदाचाहिँ चोखो रहिस् होला ?’

तर उसको मुख भने बन्द रह्यो । सरलाको मौनता देखेर उसले हाँस्दै भन्यो, ‘आजै मैले यस्तो कुरो गरेँ भनेर तिमी रिसाएकी हौली ।’

यसो भन्दै उसले सरलालाई अँगालो हाल्यो । फेरि जिस्किँदै भन्यो, ‘जिउडाल पनि के बिघ्न मोटी हात्तीजस्ती ? सायद मोटी भएर नै छाती फुलेका होलान् है । आजकाल त स्लिमको जमाना छ । स्लिम केटी नै च्वाँक हुन्छन् क्या । मोटीसँग त खासै फिलिङ्स नै आउन्न ।’

सरलालाई रिस उठे पनि काबुमा राख्न बाध्य थिई । त्योभन्दा पनि उसलाई आफ्नो शरीर र चरित्रलाई गिज्याएको पटक्कै मन परेको थिएन ।

सरलाले मनमनै भनी, ‘जसले मेरो शरीरप्रति यति बिघ्न घृणा गर्छ उसले के मलाई साँच्चै माया गर्ला र ? जीवनभर साथ देला र ? कतै यसले मेरो शरीर भोग्न मात्र बिहेको नाटक गरेको त होइन ? फेरि आफूचाहिँ कति न राम्रो विश्वकै सुन्दरझैँ गर्छ । केही पनि नमिलेको जिउडाल छ्या ! फेरि घिनलाग्दो व्यवहार पनि । अर्काको शरीर मन नपरे नछुनु नि । के गिज्जिन आएको होला ? लोग्नेको अधिकार जमाउन खोज्या होला यसले ।’

सरलाको शरीर रमेशलाई मन नपरेर के भयो र ? उसले जसो जसो भन्यो त्यसै त्यसै गरी लम्पसार परिदिनु सरलाको बाध्यता थियो । समाजका अघिल्तिर स्वास्नी भएकी नाताले उसको पाउ परिदिनु बाध्यता थियो । स्वास्नी भन्ने नाता गाँसिएकैले सरलाले नचाहे पनि उसले पूर्ण रुपले सरलालाई आफूखुसी उपभोग गर्ने अधिकारिक लाइसेन्स प्राप्त गरेको मानिन्थ्यो ।

रमेश निकै समय विदेश बसेको । विदेशी रासलीला जानेको । इन्टरनेटको सुविधा उपभोग गर्दै विदेशी रासलीलाको सिको गरेको चलचित्र समेत हेर्ने लत लागेको । ऊ मोबाइलमा प्रायः यस्तै चलचित्र हेथ्र्यो । सरला नदेखेझैँ गर्थी । ऊ केवल सरलालाई आफूले चाहेजस्तो तरिकाले भोग्न चाहन्थ्यो । ऊ लोग्ने हुनुको अधिकार सरलाको शरीर भोग्नु मात्रै हो भन्ने सोच्थ्यो । लोग्ने हुनुको कर्तव्य के हो भन्ने उसले बुझेकै थिएन ? उसलाई बुझनु पनि थिएन । भर्खरै स्रोह्र वर्षकी कलिली जवानीमा प्रवेश गरेकी, सौतेनी आमाको टोकसोले गर्दा बालविवाहको बन्धनमा परेकी सरलालाई उसले भोग्नुसम्म भोग्यो ।

खाऊँ खाऊँ र लाऊ लाऊ भन्ने बेलामा सरला एउटी छोरीकी आमा बनी । पहिले नै सबैले ठुला भनेर गिज्याएका उनका छाती अझ ठुला भए । झन्डै लत्रिन लागेझैँ देखिए । तर ती छातीबाट अमृतका धारा बग्थे । अरुलाई मन नपरेर के भो त, त्यो नै सरलाकी छोरीको प्राण धान्ने आधार थियो । उसै त सरलाको शरीर मन नपरेको । आमा बनेपछि परिवर्तित सरला रमेशको चाहनाबाट टाढा भयो । हुन त सरलाको शरीरलाई उसले मायाले कहिले नै सोचेको थियो र केवल स्वार्थपूर्ति र भोगको लागि बाहेक । त्यसपछि त रमेशको परस्त्रीप्रति लत बढ्दै गयो । यसै क्रममा एउटी ब्युटिपार्लरवाली केटी रोजीसित रमेशको हिमचिम बढ्यो ।

रमेश र रोजीको हिमचिमबारे गाउँभरि हल्ला फिजियो । रमेशलाई तरूनी च्याट्ट परेकी स्वास्नी चाहिएको रै’छ । उमेर सानै भएर के गर्नु र ? त्यो मोटी फर्सीजस्ती अनि घिरौला झुन्डिएका झँै झोलिएका छाती भएकी घरकी स्वास्नी सरला, रमेशलाई के मन पथ्र्यो र ? मोराले विदेशमा कस्ता कस्ता तरूनी देखेर आ’को ? घरमा फर्सीजस्ती भ्यात्त परेकी स्वास्नी के मन पराओस् त ? पहिलेकी स्वास्नी थिई चटक्क मिलेकी तर के गर्नु बिचरो विदेशमा हुँदा मोरीले आफ्नो बैँस सम्हाल्नै सकिन । यस्ता टीकाटिप्पणी उनीहरुका बारे गाउँभरि चलिरहे ।

‘ए सरला ! तेरो लोग्नेले त सौता ल्यायो नि ब्युटिपार्लरवाली सुन्दरी रोजी । चिटिक्क परेकी तरूनी । सधैँ लिपिस्टिकपाउडर धसेर बस्ने हिरोइनजस्ती ।’ गाउँलेले सरलालाई सुनाए ।

किन हो कुन्नि सरलालाई न त चिन्ता नै लाग्यो न त वास्ता नै ? किनकि सरलालाई रमेश कहिल्यै आफ्नो सुखदुःखको साथ दिने जीवनसाथीजस्तो लागेन । सरलाको उमेर अपरिपक्व भए पनि उसलाई थाह थियो, रमेशले आफूलाई कहिल्यै मनदेखि माया गरेको छैन । आफ्नो शरीरलाई बिहेकै दिन गिज्याएको र चरित्रमाथि शङ्का गरेकोमा उसलाई रमेशसित निकै घृणा जागेको थियो । सरलाको मनमा ऊप्रति नमिठो भाव पैदा भएको थियो । उसलाई लोग्ने हुनुको अधिकार भोग्नु मात्रै थाहा थियो । भोग्यो सकियो । गर्भवती बनायो । उसको पुरूष धर्म सकियो । उसले यति मात्र बुझेको थियो ।

अत्तरकै झोलमा डुबुल्की मारेकी झैँ ब्युटिपार्लरवाली स्वास्नी रमेशले सौता ल्याएकोमा सरलालाई कुनै गुनासो थिएन । किनकि सरलाको मनले भन्थ्यो ऊ समाजलाई देखाउनकै लागि मात्र बनेको लोग्ने नाउँको प्राणी थियो । रमेशका लागि पनि सरला आफूले चाहेको अप्सराजस्ती रुपकी खानी लागेको थिएन । बाध्यताले सरलाले उसको स्वास्नी बनिदिएकी थिई । अब त रमेशका लागि जसो जसो भन्यो त्यसै गरी लम्पसार परिदिने ब्युटिपार्लरवाली सुन्दरी स्वास्नी थिई रोजी । रातदिन सिँगारिएर मात्रै बस्ने स्वास्नी पाएर होला रमेश मक्ख थियो । उसका लागि रोजी सबै कुराले निपुण भए पनि रमेशका लागि रोजीका छाती भने निकै रमाइलो लाग्यो रे । उसलाई रोजीका छाती गुच्चाजस्ता मसिना लागेर फिलिङ्समा कमी भयो रे । त्यसैले त रमेश बजारमा गएर छाती उँचो पार्ने महँगा महँगा भित्री भित्री बस्त्र किनेर ल्याउँथ्यो । छातीलाई चाहेजस्तो बनाउन बजारबाट बे्रस्ट पिट जेल किनेर ल्याउँथ्यो र ब्युटिपार्लरवालीको छाती उँचो बनाउन सहयोग गथ्र्यो ।

प्राकृतिक रुपमा ठुला छाती भएकी स्वास्नी उसलाई झोलुङ्गे पुलजस्ती झोलिएकी भई । अब मेकअपले शरीर पोतेर मात्र बस्ने आफूलाई मन परेकी स्वास्नी पाएपछि त कृत्रिम रुपले छाती जति उँचो पारे पनि जता जे गरे पनि पुग्ने रै’छ रमेशलाई । आखिर उसलाई त भावना बुझ्ने स्वास्नीभन्दा कृत्रिम शृङ्गारमा सजिएकी स्वास्नी पो चाहिएको रै’छ । आखिर स्वास्नी भनेको खेलौना मात्र हो । जसरी हुन्छ शरीर न्यानो पार्ने साधन मात्र हो भन्ने निच सोचाइ भएको रमेशलाई साँच्चै जीवनसाथी र मायाको अर्थ के पत्तो थियो र ? उसको रासलीलाले मात्र भरिएको दिमागले मात्र यति बुझ्थ्यो स्वास्नी केवल तृप्तिका लागि हो । जुन चाहेको बेला जसरी नि उपभोग गर्न सकियोस् र मन नलागे पैतालाले थिचिराख्न पाइयोस् ।

Facebook Comments Box

Similar Posts