नन्दलाल आचार्य
(गोलबजार, सिराहा)
‘ज्ञानचक्षुको अभावमा हासिल गरेको अद्भुत चिजमा हामी गर्व गर्न सकिरहेका छैनौँ ।’ सलहेशको मलिन आवाज सुनेर मालिनी छक्क परिन् ।
मालिनीले आन्द्राभुँडी देखाउँदै भनिन्, ‘म विराट् दरबारकी राजकुमारी हुँ । मैले प्राप्तिको रस मात्रै चाखेकी छु । समाप्तिको दुर्गन्ध अनुभूत गरेकी छैनँ ।’
‘म पासवानको इष्टदेवता भएँ । दुनियाको लोकनायक ठहरिएँ । विराट् राजाकी छोरीको प्रेमी कहलिएँ । ज्वाइँ बन्न अड्चन आयो भन्दैमा ज्ञानचक्षु गुमाउँदिनँ ।’ सलहेशले कठोर छातीभित्रको आवाजलाई कोमल ध्वनिमा सार्वजनिक गरे ।
मालतीले एक कदम अघि सर्दै थपिन्, ‘म कोमलताकी प्रतीक नारी हुँ । हजुरलाई मैले आफ्नो कोमल मन सुपुर्दगी गरिसकेँ । पछि सर्ने कुरा नगर्नुस्; अघि बढ्ने योजना ल्याउनुस् ।’
‘हेर्नुस्, मालती ! म लोकको विश्वास हुँ । शक्ति हुँ । आस्था र विश्वासको अचल प्रतीक हुँ । हाम्रो प्रेमलाई प्रत्यक्ष प्राप्तिमा बदल्न लोकसमाजलाई मान्य छैन भने हामीले जिद्दी गर्नहुन्न ।’
मालतीको मनमा ठुलो चोट पर्यो । उनले भनिन्, ‘हामी एक भइरहने र लोकविश्वास कमाइरहने उपाय गरौँ । जसले गर्दा सर्प पनि मरोस्, लाठी पनि नभाँचिओस् ।’
‘जनविश्वास भनिरहेको छ– सलहेशको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने, सन्तानप्राप्ति हुने, रोगव्याधि समाप्त हुने गर्छ । फूलबारीधाममा दुर्लभ जातिका जडीबुटीहरु पर्याप्त पाइन्छन् । यस्तो जनविश्वास हाम्रो वचन पालनाले सम्भव भएको हो ।’ सलहेशले लामो श्वास फेर्दै भने ।
अन्ततः मालतीले हरेक वर्ष वैशाख १ गते फूलबारीधामको हारमको रूखमा सुनाखरीको फूलमाला भई फुल्ने वचन दिइन् । सलहेशले पनि महिसोथाको घरबाट हात्ती चढेर गोविन्दपुर–माणिक दहमा स्नान गर्ने र फूलबारीधाम पुगेर पूजाअर्चनाका लागि सोही फूलमाला टिपी फर्कने विश्वास दिलाए । यसरी प्रेमको पुनर्मिलनको चक्र हरेक वर्ष वैशाख १ गते दोहरिरहेको छ ।


