कमलीकान्त भेटुवाल
कोसी प्रदेशको हिमाली भेकमा रहेको अत्यन्त प्राकृतिक मनमोहक सङ्खुवासभाको भूगोलमा मेरो जन्म भयो । बाल्यकालमा मलाई प्राप्त शिक्षा अर्को अनौठो थियो । कक्षाकोठामा अङ्ग्रेजी विषयलाई नेपालीमा अनुवाद गरेर पढाइन्थ्यो । ट्युसन पढ्नुपर्छ अनि झन् राम्रो अङ्क ल्याइन्छ भनेर हौवा र फेसन नै चलाइएको थियो, २०५० सालतिर । सो बेलाको एसएलसी पास गर्दाको खुसी कम्ती यादगार थिएन । मनको इच्छा सिमलको भुवाझैँ उच्च शिक्षाको लागि धनकुटातिर उडिसकेको थियो । परिणामस्वरुप त्यतै मोडिनुपर्यो । सो बेलासम्म बाल्यकालदेखि किशोर अवस्थासम्मै रेडियो नेपालबाट प्रसारण हुने लोकभाकामार्फत नेपाली लोकभाकाप्रतिको अमिट छाप मेरो मनमा परिसकेको थियो । अङ्ग्रेजी र गणित मूल विषय रोजेर कडा मेहनतसाथ जिरो पावरको बत्ती धरि बालेर रातको १ बजेसम्म डेरामा पढ्ने बानी लागिसकेको थियो । मेरो तीव्र इच्छा पढ्नुमै थियो । मेरो बुबा पनि शिक्षक हुनुहुन्थ्यो । यसैले कडा मेहनत र नियमित कक्षामा ज्ञान लिनु मेरो नैतिक कर्तव्य भइसकेको थियो । बुबाको प्रेरणा आत्मसात् गर्नु थियो । गुरूजनले कक्षाकोठामा दिएका अमृतवाणीहरु कपीमा टिप्ने कौशल ममा बढ्दै गइसकेको थियो । सोही नोट साथिभाइलाई सेयर गर्थें र पास पनि गर्थें । २०५४ सालतिर सो समयको प्रवीणता प्रमाणपत्र आइएड सकेँ ।
काठमाडौँतिर पखेटा चालेर ५५ देखि अङ्ग्रेजी विषयमा बिएड् भर्ना भएँ । सो बेलाको तीन बर्से बिएड पहिलो वर्ष पास गरेर छात्रवृत्ति पाउनु मेरा लागि अर्को यादगार क्षण रह्यो । सो समय लाइब्रेरी धाउने, नोट बनाउने, क्याम्पसमा रातिसम्म एक्लै गल्लीको बत्ती बालेर पढ्ने बानी परिसकेको थियो । खाली कक्षाकोठामा गएर व्यापक अध्ययन गर्ने, लोकगीतहरु सुन्ने अनि गाउने तीव्र इच्छा पालिसकेको थिएँ । दसैँमा घर जाँदा केही मौलिक फरक फरक मादलको बिटमा तयार भएका लोक जनजीवनमा झुन्डिन सफल भाकाहरु डायरीमा टिपेर ल्याउँथेँ । बिहानबेलुकी ताहाचल क्याम्पसनजिकै डेरामा खाना पकाउँदा खेमराज गुरूङको ‘वारि जमुना पारि जमुना’ गीत नेपाली लोकसङ्गीतको इतिहासमा झङ्कृत भइसकेको अवस्था थियो । सँगै बस्ने गाउँले साथीहरुले म गायन र सङ्कलनमा भिज्न लागेको सङ्केत दिँदै प्रेरणा दिन थालेका थिए । अध्ययन गर्दै विभिन्न लोकभाका सङ्कलन गर्ने क्रममा हाकपारे, बाह्रमासे गोठाले, दाइँ गीत, असारे, देउसीभैलो, झ्याउरे, किसानी, बालगीत र भजनहरु खोजेर सङ्गीत र स्वर दिने हुटहुटी मनमा रहिरह्यो ।
पछि जब म अध्यापनमा प्रवेश गरेँ तब गायनलाई हृदयको एक कुनामा राख्दै फरक फरक कक्षाकोठाका फरक फरक कन्टेन्ट पढाउँदापढाउँदै विद्यार्थीको मनोभावना र मनोविज्ञान, रूचि अनि उमेर विचार गरेर शुक्रवार अर्थात् गुड फ्राइडे पारी सारङ्गीको धुनसँगै कक्षाकोठामा गीत प्रस्तुत गर्थें । यसो गर्दा ग्रामीण परिवेश अनि रैथाने स्वाद संस्कृतिमा हुर्केबढेका विद्यार्थीहरु मनबाटै ससम्मान यो अङ्ग्रेजी सरलाई साथ सम्मान र माया दिन्थे । अझै दिने गरेका छन् ।
बिएड सक्दा नसक्दै म डोरेमी सङ्गीत पाठशाला जमलमा सङ्गीतको ‘सा रे ग म प’तिर मोडिएँ । २०५९ सालको सुरूआतमै एउटा लोकभाकामा सङ्गीत भरेँ र म्युजिक नेपालमा रेकर्ड समेत गरेँ । यति भ्याइसक्दा रेडियो नेपालमा २०६० सालमा स्वर परीक्षा खुलेको सूचना संयोग मेरो दिमागमा पर्यो र दिएर उत्तीर्ण पनि भएँ । बिएड तेस्रो वर्ष पुगी नसक्दै लोकसङ्गीतप्रतिको मेरो रूचिले उडान भरिसकेको थियो । २०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण भएपश्चात् शिक्षण र नेपाली लोकगीत गायन, सङ्कलन र रसास्वादनलाई साथसाथै अगाडि बढाएँ । पवित्र शिक्षण पेसासँगै लोकगायनलाई जारी राख्दै गर्दा २०६६ सालमा रेडियो नेपालमा रेकर्ड भएर ‘झम्के गुलेली’ भाकाको लोकगीत लोकप्रिय भयो । गीतको लोकप्रियतासँगै मैले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएड पास गर्ने तरखर गरिसकेको थिएँ । तत्पश्चात् आजसम्म शिक्षण र गायन कलामा अविच्छिन्न झङ्कृत र तरङ्गित हुँदै छु । कक्षाकोठाभित्रको विद्यार्थीसँगको सहकार्य, सिकाइ क्रियाकलापमा लोकगायनले दिएको सकारात्मक पहिचानले विद्यार्थीको मानसपटलमा एक कुशल अभिभावक र शिक्षकका रुपमा परिचित बनायो । गायनसँगै उच्च शिक्षा आर्जन, शिक्षण र सिकाइ क्रियाकलाप निरन्तर अगाडि बढिरह्यो । कक्षाकोठामा विद्यार्थीसँगको सामीप्य, जानेको कुरा सिकाउने उच्च योग्यता प्राप्त प्राध्यापकहरुको शिक्षण कलाबाट सिकिने यावत् कुरालाई नोटमा उतार्ने, नोटका अक्षरका दाना कक्षाकोठामा पढाउँदा सेयर गर्न पाउँदाको मिठास बेग्लै थियो । लोकगायनमा उदाउँदै गरेको लोभलाग्दो प्रगति, सो प्रगतिले शिक्षण कलामा जोडिदिएको अवसरले शिक्षण कलामार्फत कक्षाकोठाजस्तो रङ्गीन सिङ्गो समाजको साझा फूलबारीमा विचरण गर्न पुगेँ लोकगायक शिक्षक बनेर । समुद्रमा माछा हुन्छन् । माछाले स्वच्छ पानी र लेउ स्वतन्त्र रुपमा खाँदै जल–संसार विचरण गर्छ भनेझैँ मैले काठमाडौँ उपत्यका र बाहिर सामुदायिक स्कुल एवम् क्याम्पसमा रहेर आधारभूत मावि र उच्च शिक्षा शिक्षणको राम्रो अनुभव बटुलेँ स्वतन्त्र शिक्षक र कलाकार बनेर । यो यात्रा २०६० सालदेखि हालसम्म अगाडि बढेको छ । हरेक क्षेत्रमा मलाई लोकगायक, सारङ्गीवादक र कुशल शिक्षकका रुपमा विद्यार्थी, अभिभावक, मेडिया र बौद्धिक वर्गले चिन्छ । शिक्षकमा भएको लोकगायन प्रतिभा कक्षाकोठासम्म पुग्दा विद्यार्थीबाट पाइने सम्मानले मलाई थप अध्ययन गर्न प्रेरणा मिल्यो । अङ्ग्रेजी शिक्षा विषयमा एमफिल लिडिङ टु पिएचडीसम्मको यात्रामा पुगेर शोधकार्यमार्फत विद्यावारिधिमा पु¥याउने ध्येयसाथ अगाडि बढाइरहेछु ।
गायकले ‘नि पढेका हुन्छन् र ? त्यै पनि लोकगायकले ? कस्तो पढाउला ? कस्ता होलान् उसले पढाएका, उसका सङ्गतका विद्यार्थी कस्ता होलान् ? भन्ने सङ्कुचित धारणाबाट पीडित पनि भइयो । सँगसँगै ‘ओहो ! यो त नमुना नै हो’ भन्ने हौसला र प्रेरणा पनि मिलेकै हो । समाजमा शिक्षण र कलाकारिता दुवै सँगसँगै लिएर हिँड्ने व्यक्ति अरु थप परिचित, सुरक्षित, इज्जतिलो हुने रहेछ भन्ने आभाष भयो । सो अनुभवलाई यस लेखमार्फत प्रस्तुत गर्ने हिम्मत गरेँ ।
शिक्षण र लोकगायनलाई सँगै अगाडि बढाउँदा विभिन्न हौसला, पुरस्कार, इज्जत, संस्कार र संस्कृति कायम हुँदो रहेछ । जीवनमा सबै थोक गर्नू, गल्ती नगर्नू भन्ने उखानलाई आत्मसात् गर्दै अगाडि बढ्नु छ । विद्यार्थीबिच लोकप्रिय शिक्षक कलाकारका रुपमा अझै चिनिनु छ । हरेक विद्यार्थीलाई होनहार प्रतिभाशाली, सृजनशील सम्झी आफूले जानेका कुरा सिकाउने हो भने एउटा शिक्षक, शिक्षक मात्र नभएर कलाकार बन्न पुग्छ र दुनियासामु ठाडो शिर पारेर विचरण गर्दै जाने अवसर प्राप्त गर्छ । यस्तो लोकगायक र शिक्षक समाज, संस्कृति र राष्ट्रको हितका लागि सदैव लाग्नेमा पूर्ण आशा र विश्वास छ । जय लोकसङ्गीत, जय शिक्षण कला ।


