प्रेमप्रसाद सञ्जेल
उता मेसिनगनको धुवाँमा
ऊ लड्छ ज्यानको बाजीमा
फगत तलबभत्ताका लागि
न उसको कर्तव्य हो
न उसको देशले जित्नु छ
न उसको देशले हारेको नै छ
सिर्फ
हातमुुख जोर्नु छ
ऊ न बादशाह हो
न उसको गद्दीहरण भएको छ
न उताको नागरिक हो
किन जान्छ ऊ त्यहाँ लड्न ?
किन उद्दत छ ऊ त्यहाँ मर्न
केका लागि लड्छ ऊ त्यहाँ
सायद गरिबीको मारले
परिवारको आर्थिक भारले
अभावैअभावले पेलिएर
रगत सस्तिएको हो कि
म अझै अलमलमै छुु
किन लडिरहेछ ऊ
यता
उसकी जवान पत्नी
बैँससँग पौँठेजोरी खेल्छे
फगत समाजका लागि
मिठो भविष्यको कल्पनाको
तिर्खालाई तिलाञ्जलि दिन्छे
दुवैको अनवरत लडाइँ छ
सिर्फ उदेश्य फरक
ऊ भातका खातिर
उसकी स्वास्नी
बातका खातिर
हरदम लडिरहेछन्
युगौँदेखि आजपर्यन्त ।
कतिन्जेल चल्ला अझ
नियति जान्दो हो
म बिचरो सोच्छु
तर पार पाउँदिनँ
अनि रनभुल्लमा पर्छु
किन लड्छन् यिनीहरु ?