रमेशप्रसाद सागर
(बेथानचोक २, ढुङ्खर्क काभ्रे)

जग चिन्दै छानोसम्म पुग्छ
मझेरीमा साँध लागे पनि छानो छाउने ऊ,
अव्यक्त प्यास बोकी बोकी
पँधेरीमा पानी लाउने ऊ,

छैनन् आकाश छुने सपनाहरु,
सहेर हिँडेको छ–
पाइला पाइलामा पीडाका पुन्तुराहरु !
छैनन् रहरका पखेटा
छैन हावामा उड्ने कल्पना,
पहिल्याउनु छैन समुद्रपारको भव्यता ।
हातका ठेलामा चिनिने ऊ
माटोमा बिउ उम्रिन्छ
जीवन फुलाउने कला, ऊ भुइँमान्छे !

कुर्कुच्चा फुटेका पाइतालाले
माटोको न्यानो स्पर्श गर्दै
ऊ बाँचेको छ उज्याला सपनासँगसँगै
ऊ बोल्छ,
दुःखले उधारो लगाओस् नलगाओस्
ऊ हाँस्छ,
सुखले आसामी तिरोस् नतिरोस्
ऊ सुसेल्छ,
थकित बाटाहरुलाई सुनाउने जीवन्त गीत, ऊ भुइँमान्छे,

नाम कतै नअँटाउने, पात्र कहिल्यै नबन्ने
ऊ आधार त्यही भुइँको हो ।
नायक होइन ऊ
तर सङ्घर्षले एउटा हकदार उभ्याउँछ ।
मौन छ, भुइँझैँ भुइँकै मान्छे, ऊ भुइँमान्छे ।

Facebook Comments Box

Similar Posts