श्रीश पौडेल
मत्र्यसागरमा हाम फालेछु
म त डुब्नुको सट्टा तैरिएछु ।
अलि अलि बालुवा मुखभित्र पसिसकेपछि
थाहा भयो — म त टन्न अगाएकै रहेछु ।
अगाएछु इच्छाबोध, कामनाबोधदेखि
हाँसो, खुसी, मज्जा अनि मुस्कानदेखि ।
हे ईश्वर, यो सागरलाई जस्तै
मलाई मेरो कर्म के हो बोध गराऊ —
प्रेममा डुब्ने कि
लोकार्पणमा हराउने ?
विज्ञानमा समर्पित हुने कि
व्यापारमा अपारम्पर हुँदै जाने?
मलाई बोध गराऊ —
अब मत्र्यसागरमा तैरिएर के गर्ने ?
मलाई बोध गराऊ ।
मेरो महाभारत के हो ?
मेरो रामायण के हो ?
मेरो युद्ध के हो ?
मेरो बुद्ध के हो ?
बोध गराऊ ।
नत्र फेरि अर्को सागर खोज्ने छु,
हाम्फालेर तैरिन —
फोक्सोमा भरिएको साहसले
श्वासको परवाह गर्दैन ।
बहुको बलले
बाजुको आकार देख्दैन ।
भन, म कता जाऊँ ?
सबै निरर्थक लाग्छ —
संसारका
सबै बन्धनहरु फिक्का लाग्छन् ।
यहीँ रूमल्लिने हो कि
यही कर्म हो कि —
निरर्थकतामा अर्थबोध गर्ने ?
गाण्डीव भिरिरहने,
ढाड कनाउने,
एक छिन आनन्द बोध गर्ने —
अब मत्र्यसागरमा तैरीएर के गर्ने ?
यसलाई पुनः जिवन मानेर
नरसंहार गर्ने कि
सिकार गर्ने सारा नरको ?
या प्रेममा डुबाउन खोज्ने अनि तैराउने —
मत्र्यसागरमा यो शरीर तैरिए झैँ ?
मत्र्यसागरमा लास तैरिएर के गर्ने
वियोग छैन,
भय छैन कतै —
विभोर भइसकेको छु ।
म डुबेको छैन —
मत्र्यसागरमा तैरिएको छु ।
अब एउटा साथी पठाऊ प्रभु —
उसले जे भन्छ, त्यही गर्ने ।
यहाँ तैरिएर मात्रै के गर्ने ?
नभन्दै सबिनजी आए —
अब अर्को ठाउँमा जान लुगा लगाउने रे ।


