चिरञ्जीवी दाहाल
(कालिका, चितवन)
मनभित्रको युद्धका लागि आन्तरिक द्वन्द्व निकै खतरनाक र शक्तिशाली बन्न सक्छ । वास्तवमा मनको युद्ध भनेको मनभित्रका तनाव, डर, शङ्का, वा द्वन्द्वात्मक इच्छाहरु विरूद्धको तीव्र मनोवैज्ञानिक सङ्घर्ष रहेछ । कर्तव्य, इच्छा, नैतिकता र प्रलोभनबिचको सङ्घर्ष नै मनभित्रको वास्तविक युद्ध हुन् । जब म यिनै विषयहरुमा केही चिन्तन र मनन गर्छु मेरो मनभित्र एक्कासि युद्धको बादल मडारिन थाल्छ ।
मडारिए मात्र त ठिकै थियो, त्यसपछि मेरा मनका भावनाहरु गोलीले ढलेको अर्ध बेहोस सिपाहीको अवस्थामा पुग्छ । त्यस बेला म मनभित्र गोली चलिरहेको, घाइते अवस्थामा भुइँमा ढलिरहेको र रगतले लथपथ भएको शरीर र यस्तै डरलाग्दा दृश्यहरुको कल्पना गर्छु । म जुरूक्क उठेर दुस्मनका विरूद्धमा हतियार चलाउने कोसिस गर्छु । मेरो हात मात्र होइन, सारा शरीर नै शिथिल हुन्छ र म युद्धका लागि असमर्थ साबित हुन्छु । किनकि म मानसिक रुपमा युद्धमा पराजित बनिदिन्छु । जब केही समयपछि म पूर्ण रुपमा होसमा आउँछु, समय घर्किसकेको हुन्छ । दुस्मनहरु मलाई पराजित गरेर कतै लुकिसकेका हुन्छन् । मेरा तमाम योजना र सपनाहरु तितरबितर भइसकेका हुन्छन् । यसरी म जीवनका महङ्खवपूर्ण युद्धमा पराजित भइरहने भएकोले हरेक कार्यमा असफल हुँदै छु । जब म असफल हुन्छु मेरो जीवन थप लथालिङ्ग हुन्छ । जीवनकालमा मैले आफ्नै मनभित्रका यस्ता प्रशस्त युद्धसँग साक्षात्कार गरिसकेको छु र युद्धमा भाग लिइसकेको छु । एउटा हातको औँलामा गणना गर्न सक्नेबाहेक, जीवनका कुनै पनि युद्धमा मैले विजय प्राप्त गर्न सकेको छैनँ । सायद जीवनका सबै युद्धमा पराजित हुनुपरेको भए म निर्वस्त्र बनेर सडकका पेटीहरुमा भौँतारिरहेको अवस्थामा भेटिन सक्थेँ । भाग्यले दुईचारओटा युद्धमा के विजयी बनेको थिएँ, आज म त्यस्तो अवस्थामा पुग्नुपरेको छैन । हालसम्म मैले आफ्नै घरपरिवारको साथमा बस्ने सौभाग्य प्राप्त गरेको छु । मलाई राम्रोसँग थाहा छ, विजय प्राप्त गरेका तिनै सीमित युद्ध नतिजाका कारण मभित्र केही अभिमान चढेको छ । म केही एकसुरे र घमन्डी बनेको छु ।
त्यसैले लाग्छ, मनभित्रका अधिकांश युद्धमा विजयी बन्न सकेको भए मेरो जीवनको स्वरुप कस्तो हुन्थ्यो होला ! सायद म छोइ नसक्नुको हुने थिएँ । मान्छेले मेरो बदख्वाइँ गरिरहेका हुने थिए । मलाई जस्तै प्रायः सबै मान्छेलाई मनभित्रको युद्धमा पराजित गरिदिएर सृष्टिकर्ताले मान्छेको अहङ्कार नियन्त्रण गरिदिएको त होइन ? मेरो मनमा अचेल यस्तै प्रश्नहरु उब्जिन थालेका छन् ।
मलाई थाहा छ, मेरो मनभित्र धेरै प्रकारका दुस्मनहरु छन् । तिनीहरुलाई म राम्रोसँग चिन्दछु । जसले मलाई समय समयमा कुरूक्षेत्रमा ओर्लिएर आफूसँग भिड्ने चुनौती दिइरहेका हुन्छन् । म द्विविधामा पर्छु, युद्धमा भाग लिऔँ, कुनै पनि तयारी गरेको छैन, होइन युद्धबाट भागौँ भने समाजले मलाई नालायक र काँतरको संज्ञा दिन्छ । समाजले उठाउने औँलासँग मलाई डर लाग्छ । सायद म मात्र होइन, अधिकांश मान्छे समाजसँग त्रसित छन् तर किन डराइरहेका हुन्छन् त्यसको उत्तर भने मसँग छैन । यसैले विनातयारी म बाध्य भएर युद्धमा भाग लिन्छु र पटक पटक पराजित हुन्छु । मनभित्रको युद्धमा पराजित हुने कारण बुझेर पनि न तयारी गर्न सक्छु न आफ्नो युद्ध रणनीति परिमार्जन गर्न सक्छु !
मभित्र आलस्य, शङ्का, चिन्ता, असफलताको डर, आत्मविश्वासको कमी जस्ता केही गम्भीर प्रकृतिका दुर्गुणहरु छन् । यसबाहेक लत, क्रोध, ईष्र्या, अभिमान, आघात र धोकाहरु पनि मेरा प्रमुख शत्रुहरु हुन् । यिनीहरुले मलाई बारम्बार धावा बोलिरहेका हुन्छन् र ममाथि हावी भइरहेका हुन्छन् । यसबाहेक मेरो कमलो मन मेरो सबैभन्दा खतरनाक दुस्मन बनेर प्रकट हुन गरेको छ । यही कमलो मनका कारण मैले आन्तरिक र बाह्य दुस्मनलाई पटक पटक क्षमा दिएको छु र नमिठो पराजय बेहोरेको छु । लाग्छ, मलाई बाह्य चुनौतीहरुले पराजित गर्न सक्दैनन् तर मनभित्रका चुनौतीहरुले भने पटक पटक पराजित गरिसकेका छन् र गरिरहने छन् । किनकि मेरा कमजोरीबारे मेरा दुस्मनहरु पूर्ण रुपमा जानकार छन् ।
कहिलेकाहीँ मैले खुसी र उदासी सँगै प्राप्त गर्छु । यस्तो अवस्थामा मेरा आन्तरिक दुस्मनहरु निकै सल्बलाउन थाल्छन् । त्यति बेला तिनले मलाई सहजै खुसी उपभोग गर्न दिँदैनन् र उदासीको कारण पत्ता लगाउने कार्यमा समेत अवरोध खडा गरिदिन्छन् । जब यस्तो अवस्था सिर्जना हुन्छ, मेरा मनका शत्रुहरु निकै शक्तिशाली बनेर प्रस्तुत हुन्छन् र मलाई युद्धका लागि ललकार्न थाल्छन् । यसरी मनको युद्धमा पराजित हुनुपरेको अहिले मात्र होइन, सम्झना भएअनुसार बाल्यकाल, किशोरावस्था र प्रौढावस्थादेखि नै मनसँगको अधिकांश युद्धमा पराजय बेहोरेको छु । हुन त सबै मान्छेले मनको युद्धमा विजय प्राप्त गर्छन् भन्ने छैन । मजस्तै अनगिन्ती मान्छेले मनसँगको युद्धमा पराजित बनेर ज्यान समेत गुमाउनु परेका घटनाहरु नसुनिएको होइन । भाग्यले मलाई त्यस्तो अवस्थामा भने आजसम्म पु¥याउन सकेको छैन । निकैपटक पराजय बेहोरेर पनि त्यस अवस्थासम्म पुग्नु नपरेकोमा भने मलाई सन्तोष लाग्छ तर यदाकदा युद्धमा भाग नलिँदै मनले स्वतः हार खाएको हुन्छ । त्यस बेला भने मलाई निकै चिन्ता लाग्छ ।
मेरो अनुभवमा युद्धअघि नै मन पराजित हुन्छ भने, यो सरासर पराजय हो । होइन युद्ध लड्नुपर्छ यसबाट भाग्नु हुँदैन जस्तो लाग्छ भने त्यही विजय हो । भौतिक रुपमा भएको पराजयले मान्छेलाई कमजोर बनाउँदैन । किनभने रूख चढ्ने मान्छे लड्छ । यसमा के आश्चर्य भयो ? मन मान्छेलाई बाँध्ने र डो¥याउने दाम्लो रहेछ । मनलाई दाम्लोले बाँधेर नियन्त्रण गर्न सकिन्छ र दाम्लो फुकाएर स्वतन्त्रता दिन पनि सकिन्छ । त्यसैले मन, मानव बन्धन र मुक्तिको प्राथमिक कारण हो । लाग्छ, मनलाई स्वतन्त्रता दिनुपर्छ भन्दैमा अत्यधिक स्वतन्त्रता व्यक्तिगत रुपमा घातक हुन सक्छ र सायद अति बन्धनमा राख्नु पनि त्यति श्रेयस्कर मानिँदैन । मेरा भोगाइका अनुभवहरुले बताइरहेको छ, मनलाई स्वतन्त्रता दिएको फल अहिले राखिरहेको छु ।
इच्छाशक्ति मानिससँग भएको महङ्खवपूर्ण हतियार हो, जुन शक्तिशाली शत्रुहरुलाई पनि पराजित गर्न सक्षम हुन्छ । सेना र हतियारहरुले सुसज्जित ठुला ठुला युद्धमा पनि दुस्मन शक्तिलाई इच्छाशक्तिका माध्यमबाट अप्रभावी बनाइदिन सकिन्छ । इच्छाशक्ति व्यक्तिको आन्तरिक उर्जा हो । महाभारतको युद्धमा केवल कृष्णको साथ पाएर मात्र पाण्डवले विजय प्राप्त गरेका थिएनन् । तिनका मनमा दह्रिलो इच्छाशक्ति थियो, बरू उनीहरुको इच्छाशक्तिलाई कृष्णले पर्याप्त मात्रामा मलजल गरेका थिए र उनले पाण्डवको इच्छा शक्ति डगमगाउन दिएका थिएनन् ।
मनको यही शक्तिद्वारा मानिसले प्रकृतिमाथि शासन स्थापित गर्न सफल भएका छन् । यही इच्छा शक्तिले, मानिसले आकाशको उचाइ र पृथ्वीको गहिराइ नापेका छन् । आफ्नो कल्पनाशक्तिमार्फत, मानिसले सपना देखेका छन्, सुखी जीवनका जुनसुकै सपनाहरु पूरा गर्ने माध्यम फेला पारेका छन् । प्रकृतिलाई चुनौती दिँदै मान्छेले खडेरीमा वर्षा गराउन र अति वर्षामा बादल तितरबितर गर्न सक्ने क्षमताको विकास गरेको छ ।
प्रमाणित भइसकेको छ, मन हा¥यो भने युद्धमा हार हुन्छ र मनले जित्ने हो भने युद्धमा जित हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, मानव जीवनमा दुःख र सुख सहअस्तित्वमा रहन्छन् तर मान्छेले धैर्य गुमाउनु हुँदैन । किनकि विजय र हार केवल मनको स्वीकृति वा अस्वीकारमा निर्भर गर्दछ । यदि प्रारम्भिक चरणमा मनले हार स्वीकार गर्छ भने हार निश्चित छ । यसका विपरीत, यदि कुनै व्यक्तिले हार स्वीकार गर्न अस्वीकार गर्छ भने, प्रतिकूल परिस्थितिमा पनि सफलताले उसलाई पछ्याउँछ । विजय र हार, लाभ र हानि, आनन्द र दुःख, सबै मान्छेको मनबाट उत्पन्न हुने कुरा हुन् । भनिन्छ, व्यक्तिले जस्तो अनुभव गर्छ त्यस्तै परिणाम निस्कन्छ । यथार्थमा मनको स्थिरता, धैर्य र निरन्तरता नै सफलताको कुञ्जी हो । जबसम्म मनमा कुनै कुरा हासिल गर्ने चाहना रहन्छ, तबसम्म व्यक्ति असफलताको सामना गर्दा पनि त्यो हासिल गर्न प्रयासरत रहिरहेको हुन्छ ।
यति हुँदाहुँदै पनि किन मैले मनसँगको युद्धमा पराजय बेहोर्नुप¥यो ? म आफैसँग प्रश्न गर्छु । मेरो मनले भन्छ, ‘चिरञ्जीवी, तेरो इच्छाशक्ति बलियो छैन निकै कमजोर छ । तैँले निश्चित समयमा उचित निर्णय गर्न सक्दैनस् । आफ्नो मनलाई अत्यधिक स्वतन्त्रता दिनु नै जीवनमा तेरो सबैभन्दा ठुलो गल्ती थियो । सक्छस् भने मन बलियो बनाउनुपर्छ र आफ्नो मनलाई कृष्ण बनाएर राख्नुपर्छ । अनि मात्र मनसँगका सबै युद्धमा तेरो विजय निश्चित छ ।’
सायद फलामलाई फलामले काट्छ भनेको यही हो । मेरो मनले उसैसँग लड्ने सूत्र घोकाइरहेको छ । म त्यही सूत्र घोक्ने असफल प्रयास गरिरहेछु ।
मनभित्रको युद्धका कारण म थाकिसकेको छु । वास्तवमा मेरो आफ्नै मन कसरी मेरो दुस्मन भयो ? मान्छेहरु भन्छन्, मनका कुरा पनि ग्रहण गर्नुपर्छ । मनलाई एक जना आत्मीय साथीका रुपमा सम्झनुपर्छ तर निरन्तर सोचिरहने, लोभी, पापी, कसैलाई घृणा मात्र गर्ने र भ्रमको खेती गरिरहने मनसँग म कसरी मित्रवत् व्यवहार गर्न सक्छु ? त्यसैले लाग्छ, यो मनभित्रको युद्ध अझै जारी छ ।


