अमरेशसिंह भदौरिया
गाउँका पुराना घरमध्ये एक, जहाँ आँगनमा आँप र निमका रूखले शीतल छायाँ दिइरहेका थिए त्यहीँ एउटा खाटमा बसेका थिए पण्डित शिवनारायण ८० वर्षीय होमियोप्याथिक चिकित्सक, गजलकार, साहित्यप्रेमी र युवाहरुका प्रेरणास्रोत । उमेरले शरीरमा प्रभाव पारेको थियो तर उनको मन अझै पनि ऊर्जावान् थियो । उनीजस्तै जीवनभर समर्पित रहनुभएकी सरलादेवी (७८ वर्ष) गृहस्थीको केन्द्र थिइन् तर अहिले स्वास्थ्यले साथ दिइरहेको थिएन ।
परिवार ठुलो थियो तर साथ दिने कोही थिएन । एक्ली छोरी प्रेरणा (५२ वर्ष), अङ्ग्रेजी प्राध्यापक, बाबुआमाप्रति समर्पित तर जागिर र परिवारको जिम्मेवारीमा व्यस्त ।
शिवनारायणजीका लागि सबैभन्दा ठुलो चुनौती थियो, स्वाभिमान र असमर्थताका बिच सन्तुलन कायम राख्नु । अहिले औँलाहरु पहिलेजस्तै सुललित थिएनन्, गजल लेख्दा अक्षरहरु बिखरिन्थे । बिरामीहरुको नाडी जाँच्दा हात काम्थ्यो ।
एउटा दिन प्रेरणाले भनिन्, ‘बाबा, अब आराम गर्नुस् ।’
शिवनारायणजी हाँसे, ‘आराम ? मानिसले केही गरिरहेसम्म मात्र ऊ जीवित हुन्छ । होइन भने, जीवन आफै एउटा भारी बन्छ ।’
त्यही समयमा सत्यवीर आए । ८५ वर्षीय अनुभवी किसान, जीवनका सत्यहरु सिधा र स्पष्ट रुपमा भन्ने बानी । उनी शिवनारायणजीका बाल्यकालका मित्र मात्र नभई जीवन सङ्घर्षका साक्षी पनि थिए । खाटमा बस्दै उनले भने, ‘शिवा, अब त तेरो चस्मा मोटा भइसक्यो, हात काम्न थालेको छ, अब त स्वीकार गर कि शरीर तँलाई आराम गर्न भन्छ ।’
शिवनारायणजीले चियाको चुस्की लिँदै भने, ‘शरीर थाक्न सक्छ तर मनलाई थाक्न दिन्नँ । अनुभव पनि औषधि हो र त्यसलाई अरुसम्म पुर्याउनु मेरो कर्तव्य हो ।’
सत्यवीर हाँसे, ‘त्यसो भए किन तेरो ज्ञान युवाहरुलाई बाँड्दैनस ? तँ सधैँ भन्थिस्, गाउँमा साहित्यिक वातावरण छैन । अब त तँसँग समय पनि छ, अनुभव पनि ।’
शिवनारायणजीको मनमा यो कुरा बस्यो । उनीहरुले आफ्नो ढोका युवाका लागि खोलिदिए । गाउँका युवा लेखन र साहित्यप्रति आकर्षित भए । उनीहरु गजल एवम् साहित्यिक लेखन र चिकित्सा ज्ञान सिक्न आउन थाले । बिस्तारै उनको चौतारी युवाहरुको सृजनात्मक केन्द्र बन्यो ।
यति हुँदा पनि सत्यवीरलाई अझै केही अधुरो लाग्यो । उनले भने, ‘शिवा, तैँले जीवनभर लेखिस्, गजल, कथा… तर तेरो लेखन गाउँबाहिर को लान्छ ?’
शिवनारायणजी रोकिए । साँच्चै, उनले धेरै पाण्डुलिपि तयार गरेका थिए तर कहिल्यै प्रकाशित गर्ने सोच बनाएनन् । यो सुनेर प्रेरणाले भनिन्, ‘बाबा, तपाईंका पुस्तकहरु प्रकाशित हुनुपर्छ । यो तपाईंको मात्र होइन, हाम्रो गाउँको पनि सम्मान हो ।’
शिवनारायणजीले सङ्कोच मान्दै भने, ‘अब यो उमेरमा को प्रकाशन गर्छ मेरो किताब ?’
प्रेरणाले प्रयास गरिन् । उनले आफ्ना साहित्यिक सम्पर्कहरु प्रयोग गरेर प्रकाशकसँग कुरा गरिन् । केही महिनापछि शिवनारायणजीको पहिलो किताब प्रकाशित भयो । गाउँको पञ्चायत भवनमा विमोचन कार्यक्रम भयो । गाउँका मानिस, युवा लेखक र केही साहित्यकार उपस्थित थिए ।
जब शिवनारायणजीले आफ्नो पहिलो पुस्तक हातमा लिए, उनका आँखा रसाए । सत्यवीरले उनको पिठ्युँ थप्थपाउँदै भने, ‘अब तेरो नाम गाउँमै मात्र सीमित छैन, तेरा शब्दहरु धेरै टाढा जाने छन् ।’
त्यही दिन एक युवा लेखकले भने, ‘गुरूजी, तपाईंले हामीलाई सिकाउनुभयो, उमेर मात्र एउटा सङ्ख्या हो, असली प्रेरणा कर्ममा हुन्छ ।’
शिवनारायणजी मुस्कुराए, ‘जुन दियो बल्छ, त्यो निभ्नुअघि झन् धेरै उज्यालो गर्छ ।’
केही दिनपछि प्रेरणाले पुरानो सन्दुकमा शिवनारायणजीको एउटा हराएको पाण्डुलिपि भेट्टाइन् । त्यो ३०–४० वर्ष पुरानो गजल र कथाहरुको सङ्ग्रह थियो । उनले पढिन् अनि छक्क परिन् । यो लेखन आज पनि उत्तिकै सशक्त र प्रासङ्गिक थियो । उनले तत्कालै प्रकाशकलाई पठाइन् । पुस्तक प्रकाशित भयो र बेस्टसेलर बन्यो । साहित्यिक दुनियाँमा हलचल मच्चियो । गाउँको साहित्यलाई अमूल्य निधिका रुपमा हेरियो ।
शिवनारायणजीले आफ्नो अन्तिम गजल लेखे—
‘बाटोमा छुटे जुन पाइला कहिल्यै मेटिँदैन,
त्यसै पाइलामा हिँड्न अर्को कोही आउँछ ।’
केही महिनापछि, शिवनारायणजीलाई राष्ट्रिय सम्मान प्रदान गरियो । सम्मान समारोहमा प्रसिद्ध साहित्यकारले भने, ‘पण्डित शिवनारायण केवल लेखक होइनन्, उनी प्रेरणा हुन् । उनको लेखनी र जीवनले देखाउँछ कि उमेर कहिल्यै सपना पूरा गर्न बाधक बन्दैन ।’
त्यसै कार्यक्रममा एक जना युवा पत्रकार स्टेजमा गएर भने, ‘गुरूजी, म त्यही विद्यार्थी हुँ जसलाई कोही पढ्न लायक ठान्दैनथे तर तपाईंको प्रेरणाले मलाई आज पत्रकार बनाइदियो ।’
शिवनारायणजीका आँखामा गर्वका आँसु आए । सत्यवीरले मुस्कुराउँदै भने, ‘शिवा, तेरो दियो निभ्न लागेको थियो होला तर यसको उज्यालो हजारौँ बाटामा फैलिसकेको छ ।’
शिवनारायणजीले धिमा स्वरमा भने, ‘हो मित्र, अब शान्त छु । यो प्रकाशपथ कहिल्यै अन्धकारमा हराउने छैन ।’
‘ज्ञान र साहित्य कहिल्यै बुढो हुँदैन । यो पुस्ता दर पुस्ता बगिरहन्छ, जसरी एउटा नदी आफ्नो बाटो आफै बनाउँछ ।’
शिवनारायणजीले प्रमाणित गरिदिए, ‘यदि कसैले आफूलाई अमर बनाउनु छ भने आफ्नो ज्ञान र अनुभव नयाँ पुस्तासम्म पु¥याउनुपर्छ । त्यही साँचो सम्पत्ति हो ।’


