जीवन आचार्य ‘निश्चल’

आज सबेरै
बोकेर हातमा कमन्डलु
र त्यसभित्र छुरी
विरहको गीत गाउँदै
भिक्षाटनका लागि निस्केको छ
बुद्ध गाउँमा ।

घमाइलोमा घाम ताप्दै,
रमाइलो गर्दै
उन्मुक्त हाँसो हाँस्दै,
रमाउँदै छ बुद्ध
र सकिरहेको छैन
ढुङ्ग्राको प्रश्नमा जबाफमा फूल पठाउन ।

पलेटी कसेर ध्यानमग्न बन्न खोज्दै छ ऊ
यहाँ त्यसकारण बुद्धु भएको छ बुद्ध,
बुद्ध भएको छ बुद्धु
मजाक बन्यो शान्ति तपाईंहाम्रा अगाडि
शान्ति, बुद्ध खोज्न निस्किएको छ मातेर
अचानक आगोसँग जिस्किँदै छ बुद्ध गाउँ पसेर ।

बुद्ध गाउँमा छिरेपछि
एकाएक एकता,
ए कता फर्कियो गाउँका मान्छेको मन
त्रसित भएको छ आमाको ममता
बाघ देखेर नडराउने केटाकेटीहरु
कोकोहोलो मच्चाउँदै छन् खुसीले ।

यहाँ बुद्धको खोलले काम गरेको छ
सुनमा सुगन्ध थपियो झन्
वाल्मीकिका अनुहार परेको रत्नाकर ।
हे ईश्वर !
तँ छस् भनेर तेरो शरणमा आउनेलाई
आफैसँग राख् सक्छस् भने
मुखले राम राम भनिबस्छ
जो विद्रोह गर्छ
जसले अन्यायको आवाज बोक्छ
यी सबैको आवरण मात्रै हो ।

हिजोका केही पर्वहरु परिवर्तनको नाममा
कलीले देखाएको रासलीला न रहेछ
शान्तिको गीत गाउँदै
तरबार बोकेर हात हातमा
टुहुरा बनाए सपना
उजाड बनाए बस्ती
अलपत्र पारे पूर्ण निर्माण
भजाएर खाए खाँदै छन् लुम्बिनी ।

बुख्याचा बुद्धकै हो
तर पनि त्रसित छ मान्छे,
बुद्धको त कुरा छाडौँ
हामीलाई
बताएका इतिहासमा मलाई शङ्का छ ।

नाम मात्रको फरक फरक न हो

कोत, भण्डारखाल, दरबार
सत्ता हत्याउने प्रपञ्चलाई परम्परामा विकसित गरे ।

भ्रम बाँडेर भ्रमकै खेती गरिरहे
इतिहास साक्षी छ
खोतलखातल पारेर हेर
सहिदको सपना भन्दै
मान्छे मार्ने खेतीमा को फस्ट आउने
होडमा दौडिरहेको छ बुद्ध
त्यसैले
यहाँ बुद्ध शान्तिले बाँच्न बुद्धु बन्नै पर्छ ।

Facebook Comments Box

Similar Posts