चन्द्रमणि चापागाईं
(कावासोती, नवलपरासी)

आफूसँगैको संवादमा
म कहिलेकाहीँ
आफैसँग असहमत हुन्छु ।

आफूलाई आफू नै झिँजो लाग्न थालेपछि
मेरा केही सवालका जवाफहरु
मैले आफैलाई होच्चाएर दिने गरेको छु ।

कति सवालहरु खारेज गरिदिएको छु ।
कति सम्बोधनहरु उपेक्षा गरिदिएको छु ।
कति स्नेहहरु तिरस्कार गरिदिएको छु ।
कति शुभेच्छाहरु कुल्चिदिएको छु ।

मैले आफैलाई
फैलिँदै फैलिँदै जाऊँ भनी दिएका उपदेशहरु
जीवनलाई आकाश बनाएर फैलाऊँ भन्ने दर्शनहरु
हावाको वेग समात भन्ने आदेशहरु
पानीको आकार बन भन्ने उत्प्रेरणाहरु
सबै सबै
समयको झोलामा पोको पारेर
जीवनको डस्टविनमा फ्याँकिदिएको छु ।

बरू भन्ने गरेको छु आफैलाई
कि मलाई फैलावटको भ्रमले
झनै खुम्चाउँदै खुम्चाउँदै लगिरहेको छ ।

जसरी
हार्नेहरु
जित्नेहरु भन्दा बढी बलिया हुन्छन ।
त्यसै गरी
खुम्चिनेहरु
फैलिनेहरुभन्दा बढी फराकिला हुन्छन् ।

खुम्चिनु
मर्नु होइन ।
चाउरिनु
कुरुप हुनु होइन ।
हार्नु
सकिनु होइन ।

आजैदेखि
खुम्चिन सिकिनँ भने
मरेपछि
साँघुरो चिहानमा गुम्सिने छु ।
खुम्चिनु भनेको
जीवनको साँघुरो मेचमा
तिमीलाई बस्ने ठाउँ बनाउनु हो ।

त्यसैले
तिमीलाई सदर गर्नका लागि
कैयौँपटक मैले आफैलाई
आफैले बदर गरिदिएको छु ।

Facebook Comments Box

Similar Posts