रमी प्रिया

बाटोमुनि, अजङ्ग उभिएको पिपलको रूख
जहाँ धेरै किराफट्याङ्ग्र्रा र चराहरुको बास अँटाएको छ
हल्ला कोरलिरहेका नानीहरुलाई
मेरा हजुरबाले जस्तै
मिठो मानेर मौन सुनिरहन्छ ऊ ।

कहिले यो पिपल
मेरी आमास्तै लाग्छ मलाई
हजार कामनाका काँचा धागाहरुले बेरिएर
काला जादुको त्रासलाई आफूभित्र ताल्चा मार्दै
आफ्ना छोराछोरीहरुलाई अभयदान दिइरहेकी ।

कहिले त यो रूख
मेरो साथी बिजूजस्तै लाग्छ
उदास साँझहरुमा मेरा आँसु बिसाउन काँध फैलाउँदै गरेको
सधैँ हौसलाका अक्सिजन थपेर मलाई घर फर्काइरहने ।

साँच्चै, कुन शताब्दीदेखि उभिएको होला
यो पिपलको रूख जहाँ हरेक शनिबार
एक लोटा पानी चढाएर सहरभरिका मानिस
आरोग्य लिई फर्कन्छन् साढे सात वर्षका लागि ।

चारै क्षितिज फैलिएको हरियो भूगोललाई
खर्लप्पै निलेर नअघाएका
यिनै मानिसहरुले बोकाएका
सबै ग्रहदशाको भार धान्न नसकेर एक्लै
यो पिपलको रूख
छिया छिया परेको छाती लिएर
आफ्नो दशा देखाउन
मानिसहरुको घरतिर हिँडेको दिन
कल्पना गर्नुस् त – कस्तो होला ?

Facebook Comments Box

Similar Posts